
माङसेबुङ/राजनेताहरुले सत्य कुरा बोल्नुपर्ने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

‘मुलुकमा कसरी स्थायी शान्ति कायम गर्न सकिन्छ ? भन्ने कुरामा नेताहरूको ध्यान जानुपर्छ ।’ अङसीमाङज्यूले भन्नु भयो, ‘नेताहरुले समाजको उत्थान गरेर देश विकास गर्नपर्छ ।’

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

‘नेपालमा चुनाव भएपनि नभएपनि शान्ति नहुने संकेत गर्नुहुँदै अङसीमाङज्यूले भन्नु भयो, ‘नेताहरुले कुटनीतिक तरिकाले सम्बाद गरेर हाम्रो मुलुकलाई बचाएर लानुपर्छ ।’ वहाँले थप्नुभयो, ‘सबै नेताहरुमा राम्रो दिमाग आओस, सबैलाई बचाउने असल सोचको विकास होस् ।’

‘धर्म भनेको पञ्च तत्वको अमृत हो । विश्वका मानव समुदायले बाडेर सेवन गर्न सक्छ ।’ वहाँले आशीर्वचनमा भन्नुभयो, ‘धर्म बिनाको मानव हुँदैन । धर्मले असल बाटोमा हिड्न सिकाउँछ । हामीले धर्म गर्नुपर्छ । सबै मानव समुदायलाई बचाउनुपर्छ ।’

आशीर्वचनमा वहाँले भन्नुभयो ‘जनताको हातमा शक्ति रहेको छ । नेताहरुले आफ्ना जनता दबाउने काम गर्नु हुँदैन ।’

पश्चिम बंगाल भारतका सभासद सतिस पोखरेल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा फागुन ३ गते पवित्रहाङमा साहित्य पुरस्कारद्धारा साहित्यकार राधिका हुक्पा चोङबाङसम्मानित हुनु भएको छ। सावायेहाड नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाले किरात साम्जीक मुन्धुम वाचन गरेको थियो ।

नुमाङगेन्ना सेवाको अवसरमा प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ । नुमाङगेन्ना सेवाको अवसरमा गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकताको लागि १ लाख ८ दीप प्रजवलन गरिएको थियो ।

जन्मोत्सव कार्यक्रम मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन कार्यक्रम समेत भएको छ । कृति विमोचन अन्तर्गत नेम्बाङ सयङको स्मारिका र लेखक जितमान तिगेलाको किरात संस्कार नामक कृति विमोचन गरिएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको हस्तवाहुलीबाट प्रत्येक भक्तजनहरुले माङवाहाङवा (टीका) ग्रहणसँगै माङगेन्ना चामल वितरण गरी महासमारोह सम्पन्न हुने कार्यक्रम रहेको छ ।

शुभ जन्मोत्सव महासमारोह अन्तर्गत फागुन १ गते साक्मुरा वादेम्मा सेवा, २ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

महासमारोहका सांस्कृतिक विभाग संयोजन तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा फागुन ३ गते साँझ बृहत सांस्कृतिक कार्यक्रमसँगै पवित्रहाङमा पालाम इक्ला प्रतियोगिता सम्पन्न भएको छ । पवित्रहाङमा पालाम इक्ला प्रतियोगिताको उपाधि लोरिङदेन पार्वती योङहाङले हात पारिन । सो प्रतियोगितामा रितुराज थेगुवा, संगीता योङहाङ र सेमी सेर्मा फाइनालिस्ट भएका थिए ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको आयोजनामा सम्पन्न नुमाङगेन्ना समारोह महासमारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न थियो । महासमारोह उपाध्यक्ष कमला तुम्बापोले स्वागत तथा औचित्य मन्तव्य राखेकी थिइन । भने सचिव समिता थेबेले सञ्चालन गरेकी थिए ।
















