पवित्रहाङमा गोल्डकप : उपाधिका लागि पान्थर र इलाम भिड्दै

माङसेबुङ/जनता सेभेन क्लब इलाम पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई ५–१ गोल अन्तरले पराजित गर्दै इलाम फाइनल प्रवेश गरेको हो ।

 

त्यसैगरी विहिबारनै सञ्चालन भएको दोस्रो सेमिफाइनल खेलमा दारिम्बा फुटबल क्लब याङवरक पान्थर फाइनल पुगेको छ । फेयर फुटबल क्लब धरान सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै पान्थर फाइनल प्रवेश गरेको हो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप प्रतियोगिताको फाइलन खेल आगामी फागुन २ गते हुने आयोजकले जनाएको छ ।

 


पवित्रहाङमा गोल्डकपको १६ औं संस्करणमा यस वर्ष जनता सेभेन क्लब इलाम र दारिम्बा फुटबल क्लब याङवरक पान्थरबीच फाइनल खेल हुने महासमारोह खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

 

प्रतियोगितको विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको थियो । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका थिए । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब कर्साङ दार्जिलिङ सहभागि थिए ।

 

 

 

 

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा पवित्रहाङमा गोल्डकप वर्षेनी आयोजना हुँदै आएको छ ।