
माङसेबुङ/जनता सेवेन स्पोर्ट क्लब इलाम पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न खेलमा बेलबारी फुटबल क्लब मोरङलाइ २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल प्रवेश गरेको हो ।

इलामको जितमा रेखा बिष्टले खेलको ९ औ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको १५ औ मिनेटमा सरिता नाथले १ गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । भने, दोस्रो हाफमा बेलबारी मोरङका लोचना लिम्बुले ३३ औ मिनेटमा १ गोल गरेपनि खेलमा फर्कन सकेन । रेखा विष्ट आजको खेलको उत्कृष्ट खेलाडी बन्दै ३ हजार ५ सय ७० रुपैयाँ प्राप्त गरेकी छन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित गोल्डकप प्रतियोगिता अन्तर्गत भोलि बुधबार फेयर फुटबल क्लब, सुनसरी र हिमालय फुटबल क्लब कर्साङ, दार्जिलिङबीच हुनेछ ।
प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब रहेको छ ।

प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।












