पवित्रहाङमा गोल्डकप माघ २५ देखि सुरु हुने

माङसेबुङ/मुहिङगुम अङसीमामा साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६ औं पवित्रहाङमा गोल्डकप २०८२’ आउदो माघ २५ गतेदेखि सञ्चालन हुने भएको छ ।

प्रतियोगिता माङसेबुङ ५ मा अवस्थित आत्मानन्द रंगशालामा सञ्चालन गरिने महासमारोह खेलकुद विभाग संयोजक आत्मापवित्र हक्चात यक्चुमको अध्यक्ष मनप्रसाद आङबुहाङले एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

 

प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् ।

 

यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब कर्साङ सहभागी हुने निश्चित भएको छ ।
प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने अध्यक्ष आङबुहाङले जानकारी दिनुभयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा फुटबलका साथै महिला व्यडमिन्टन, म्याराथन, छेलोे हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाई लगायतका खेलहरुसमेत आयोजना गरिने छ ।

खेलकुद कार्यक्रमको संयोजन आत्मापवित्र खेलकुद समितिले गर्नेछ ।