सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको तयारी पूरा

माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह २०८२ को तयारी पूरा भएको छ ।

सोमबार किरात धर्मावलम्बीको केन्द्रीय धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिम परिसरमा महासमारोह समुद्घाटन हुने महासमारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिएका छन् ।

 

महासमारोहका अध्यक्ष योङहाङका अनुसार सोमबार कार्यक्रम समुद्घाटन, किरात सांस्कृतिक साहित्य पुरस्कार वितरण र शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ ।

 

 

मंगलबार (माघ ६ गते) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट विशेष आशीर्वचन, पुस्तक पुस्तिका विमोचन, धन्यवाद पत्र वितरण, सम्मान कार्यक्रम र माङवाहाङवा (बीउबिजन) वितरण हुने कार्यक्रम छ ।

 

कार्यक्रममा दुवै दिन साँझ सांस्कृतिक सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

 

महासमारोह कार्यक्रम अन्तर्गत आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको छ । भने, शनिबार साक्मुरा वादेम्मा गरिएको थियो ।