
माङसेबुङ/किरात धर्मदर्शन‚ किरात साम्जीक मुन्धुम र कर्मकाण्डबारे किरात धार्मिक प्रशिक्षण सम्पन्न भएको छ । सो प्रशिक्षण कार्यक्रम माङसेबुङ गाउँपालिका ५‚ माङसेबुङमा अवस्थित गुरु निजी आश्रममा आयोजना गरिएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्धघाटन मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्यूबाट भएको थियो ।

पुस १६ देखि १८ गतेसम्म सञ्चालन भएको प्रशिक्षणमा किरात धर्मजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्य‚ साङदाङगेन वरुमसाबा‚ साङदाङगेन वरुमसामा, माङसेवासाबा र माङसेवासामा र शाखा किरात माङहिमहरुको सञ्चालक समितिका पदाधिकारीहरू सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल, भुटान, भारत, अमेरिका, अष्ट्रेलिया, हङकङ लगायत विभिन्न मुलुकबाट एक हजार दुइ सय जना प्रशिक्षार्थीहरूको सहभागिता रहेका आयोजक समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भयो ।

तीन दिने किरात धार्मिक प्रशिक्षण कार्यक्रममा किरात साम्जीक मुन्धुम अनुसार गरिने कर्मकाण्ड (विधि) लाई एकरुपता दिन लिखित खाजोङ थिम प्रस्तुत गरिएको छ । सो खाजोङ थिमलाई किरात साम्जिक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक, सिक्साम्बा नन्दकुमार सेर्मा, सञ्चहाङ सङबाङफे र साङदाङगेन वरुमसाबा इन्द्रहाङ आङदेम्बेले वाचन गरेर सबै सहभागिलाई सुनाएका थिए ।

यसरी मानव जन्म पूर्वदेखि मृत्यूपर्यन्तसम्म गरिने कर्म संस्कार विधिबारे सबैलाई प्रष्ट पार्ने र सबैमा एकरुपता दिने उद्देश्यले खाजोङ थिम प्रकाशनमा ल्याएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रमको दोस्रो दिन गुरु निजी आश्रम र कृषिको महत्वबारे गुरु निजी आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापो, किरात धार्मिक आचारसंहिताबारे साङदाङगेन वरुमसाबा यादवचन्द्र फुरुम्बो, किरात धर्म दर्शन तथा ज्योतिषबारे डा. चन्द्रकुमार सेर्मा र मुन्धुम र सिवाखाहुनबारे तुम माङसेवासाबा मनप्रसाद थलङले बोल्नु भएको थियो ।

कार्यक्रमको तेस्रो दिन किरात धर्मको कर्मकाण्डलाई एकरुपता ल्याउनका विभिन्न मुलुक र नेपालको विभिन्न जिल्लाबाट आउनु भएका माङसेवासाबाहरुले प्रतिनिधिमूलक आफ्नो भनाई राखेका थिए ।

यसरी भनाई राख्ने साङदाङगेन वरुमसाबा प्रतिनिधिहरुमा नाम फुरुम्बो अमेरिका, मनमाया आङबुहाङ मादेन युके, प्रेमसिं साम्पाङ भूटान, डिआर पन्धाक भारत सिक्किम, डिबी सेलिङ भारत दार्जिलिङ, जिआर चाम्लीङ भारत कालेम्बुङ, दुबिन्द्र सेर्मा काठमाण्डौं उपत्यका, अगम वान्तावा इलाम, रन्धोज कुरुम्बाङ पान्थर, केदार पतङवा ताप्लेजुङ, कृष्ण चेम्जोङ झापा, अम्बरदल मिभक मोरङ, कालेन्द्र लाओती सुनसरी, शुक्र चेम्जोङ धनकुटा, भक्तबहादुर आङबो तेह्रथुम, हिन्दबहादुर मुसाहाङ संखुवासभा र किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष बलराम खजुम लगायत थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य माङगेन्ना उपाध्यक्ष होमबहादुर लिङ्देनले राख्नु भएको थियो भने सचिव समिता थेबे र किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोका सचिव बाइसकुमार राईले कार्यक्रम सञ्चालन गरेको थियो ।

किरात साम्जीक मुन्धुम, खाजोङथिम नामक पुस्तक वितरण गर्दै कार्यक्रमको समापन भएको थियो ।






















