छकिनटेन स्मृति कपको उपाधि रबि पान्थरले चुमे


माङसेबुङ/ द बुद्ध विगिनी रबि पान्थरले इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित छकिनटेन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

 

 

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा सिङफेरे युथ क्लब माङसेबुङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै रबिले उपाधि चुमेको हो ।


प्रतियोगिताको विजेता रबिले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । भने, उप विजेता सिङफेरेले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

गत पुस ६ गते सुरु गरिएको खेलमा इलाम, पान्थर, मोरङ र झापाका ८ टिम सहभागि थिए । सहभागि टिममा द बुद्ध विगिनी रबि पान्थर, सिङफेरे युथ क्लब माङसेबुङ इलाम, युथ अफ माङसेबुङ, मुजुरभित्ता युथ क्लब झापा, फुङनाम स्पोर्टिङ क्लब इलाम, पलाँसे युथ क्लब माई इलाम, नवदीप युवा क्लब मिक्लाजुङ र ठेवा खोला एफ. सी माई इलाम रहेका थिए ।

 

सामाजिक, धार्मिक, सांस्कृतिक रुपान्तरणका निमित्त त्याग र बलिदान दिने किरात धार्मिक सहिदहरुको सम्झनामा खेलकुद कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

 

 

 

 

यसरी किरात धर्मको प्रचार प्रसार गर्ने क्रममा तत्कालिन माओवादी कार्यकर्ताबाट ५ जना किरात धार्मिक कार्यकर्ताहरुलाई विभिन्न ठाउँ र समयमा हत्या गरिएको थियो । यसरी हत्या गरिएका धार्मिक सहिदहरु ताप्लेजुङका टेकबहादुर अन्छङबो, नरप्रसाद लिङ्देन, इलामका किर्तिमान एवाई, छत्र सावादेन र पान्थरका नरधोज लाओती रहेका छन् ।

यसरी सहिदको स्मृतिमा आयोजित खेलकुद कार्यक्रम सम्पन्न गर्न सहिद परिवार र किरात धर्मावलम्बी, शुभेच्छुकहरुको सहयोग रहेको कार्यक्रमका अध्यक्ष आत्म पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।

 

त्यसैगरी प्रतियोगिताको उपविजेताको नगद पुरस्कार २५ हजार किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले सौजन्य गरेको छ । फाइनल खेलका प्रमुख अतिथि समेत रहेको माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले नगद सौजन्य रकम खेलकुद कार्यक्रमका अध्यक्ष आङबुहाङलाई प्रदान गरेका थिए ।


आत्मापवित्र खेलकुद समितिको संयोजनमा सञ्चालित स्मृति कपमा युथ अफ माङसेबुङ, किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोले सह–संयोजनको भूमिका निर्वाह गरेको थियो । भने, फाइनल खेलमा विशेष अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ रहनु भएको थियो ।