
माङसेबुङ/हाम्रो आत्मा र शरीरलाई पवित्र राख्नुुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोह समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

‘हाम्रो समुदाय क्रोध, घमण्ड र अहंकारमा चुर्लुम्म डुबेका छौं’ अङसीमाङज्यूले भन्नु भयो, ‘खानपिनमा सुधार भएर सही सत्य कुरो बुझ्नुपर्छ । कूलतमा कसै फस्नु हुँदैन ।’ वहाँले थप्नुभयो, ‘ मैले सबैलाई असल कर्महरु सिकाई रहेको छु ।’
‘हामीसँग मार्ग दर्शन, मुन्धुम, भाषा, साहित्य, लिपि सबै छ । यसको खोज अनुसन्धान गरेर विकास र विस्तार गर्नुपर्छ ।’ वहाँले आशीर्वचनमा भन्नुभयो, ‘हामीले धर्म कर्म सुधार गरेर लानुपर्छ ।’

शुभजन्मोत्सव कार्यक्रममा प्रमुख अतिथि वालमिकी क्याम्पस काठमाण्डौं संस्कृत विश्वविद्यालयका सह प्राध्यापक भवानी शंकर अधिकारी रहनु भएको थियो ।
नुमाङगेन्ना महासमारोह समुद्घाटन कार्यक्रममा आत्मानन्द साहित्य पुरस्कारद्धारा यस वर्ष साहित्यकार येहाङ लाओती (धनबहादुर) सम्मानित हुनु भएको छ । सावायेहाड नुमाङगेन्ना सेवामा ७२ जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन गरी माङगेन्ना गरिएको छ ।

अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत सम्पन्न गरिएको छ । त्यसैगरी नुमाङगेन्ना सेवाको अवसरमा प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ । जलपान कार्यक्रमलाई किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तीय समिति सिक्किम भारतले प्रायोजन गरेको छ ।

अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम सके गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकताको लागि १ लाख ८ दीप प्रजवलन गरिएको छ । भने, साँझ समारोहका सांस्कृतिक विभाग संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम भएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत भोलि मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माड आशीर्वचन हुने कार्यक्रम रहेको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने महासमारोहले जनाइएको छ ।
समारोह अन्तर्गत १९ गते विहान साहित्यिक कार्यक्रम हुने छ । भने साँझ बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत हुने भएको छ ।

महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार १५ गते साक्मुरा वादेम्मा सेवा, १६ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा चेसोक सेवा र १७ गते बुधबार विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोह तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा समुद्घाटन कार्यक्रम गरिएको थियो । समारोहमा स्वागत तथा औचित्य मन्तव्य महासमारोहका उपाध्यक्ष होमबहादुर लिङ्देनले राखेको थियो भने सञ्चालन महासमारोह सचिव समिता थेबेले गरेकी थिइन ।















