
माङसेबुङ/इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १८ औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा स्पोर्टिङ क्लब मोरङले चुमेको छ । उपाधिसँगँ सिरिजंगाले नगद ३ लाख ११ हजार १७२ रुपैयाँ प्राप्त गरेको छ ।

यहाँस्थित आत्मानन्द रंगशालामा सम्पन्न १८ औं संस्करणको प्रतियोगिताको फाइनलमा सिरिजंगा मोरङले लेटाङ फुटबल क्लब मोरङलाई ट्राइब्रेकरमा ६–५ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितको उपविजेता बनेको लेटाङले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता संजय धिमाल, उत्कृष्ट गोलकिपर प्रनिश गच्छदार, उत्कृष्ट डिफेन्स विशाल भण्डारी, प्लेयर अफ द टुनामेन्ट निरज परियार भएका छन् । उनीहरुले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी प्राप्त गरेका छन् ।
यसैगरी उदीयमान खेलाडी अनम लिम्बू र गगन लिम्बू भएका छन् । उत्कृष्ट कोचको उपाधि सिरिजंगाका चेतन खतिवडा भएका छन् । उनीहरुले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ आयोजित सो प्रतियोगिता मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ को अवसरमा आयोजना गरिएको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन भएको थियो । भने, युथ अफ माङसेबुङले सह–संयोजनको भूमिका निर्वाह गरेको थियो ।













