मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव महासमारोहको तयारी पूरा

माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको तयारी पूरा भएको छ ।

 

 

 

विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सवसँगै चेसोक तङनाम भव्यताका साथ मनाउने तयारी गरिएको हो ।

 

 

 

नुमाङगेन्ना सेवाको अवसरमा बुधबार सम्पन्न १८ औं आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा स्पोर्टिङ क्लब मोरङले हात पारेको छ । उपाधिसँग सिरिजंगाले नगद ३ लाख ११ हजार १७२ रुपैयाँ प्राप्त गरेको छ । भने, प्रतियोगिताको उप विजेता लेटाङ फुटबल क्लब मोरङ बनेको छ । लेटाङले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ ।

 

 

 

 

महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार १५ गते साक्मुरा वादेम्मा सेवा, १६ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा चेसोक सेवा र १७ गते बुधबार विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको छ ।

 

 

 

 

 

शुभजन्मोत्सव कार्यक्रममा प्रमुख अतिथि वालमिकी क्याम्पस काठमाण्डौं संस्कृत विश्वविद्यालय सह प्राध्यापक भवानी शंकर अधिकारी आउनु हुने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोह तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

 

 

कार्यक्रम अन्तर्गत विहिबार भोलि नुमाङगेन्ना महासमारोह समुद्घाटन, शुभकामना मन्तव्य र आत्मानन्द साहित्य पुरस्कार वितरण हुने भएको छ । यस वर्ष आत्मानन्द साहित्य पुरस्कार साहित्यकार येहाङ लाओती (धनबहादुर) लाई प्रदान गरिने माङगेन्ना सेवा समितिका सह सचिव ललितचन्द्र फियाकले बताएका छन् ।

 

 

 

यसरीनै मुहिङगुम अङसीमाङ तथा अङसीमामाङज्यूबाट धन्यवाद आशीर्वचन साथै विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७२ जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन हुने आयोजक समितिले जनाएको छ ।

 

 

 

महासमारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने छ ।

 

 

नुमाङगेन्ना सेवाको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ । जलपान कार्यक्रमलाई किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तीय समिति सिक्किम भारतले प्रायोजन गरेको छ ।

 

 

 

 

अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम सकेपछि बिहिबारनै गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकताको लागि १ लाख ८ दीप प्रजवलन गरिने कार्यक्रम समेत रहेको छ । भने, साँझ समारोहका सांस्कृतिक विभाग संयोजन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम हुने छ ।

 

 

 

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माड आशीर्वचन हुने कार्यक्रम रहेको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने महासमारोहले जनाइएको छ ।

 

 

 

 

समारोह अन्तर्गत १९ गते विहान साहित्यिक कार्यक्रम हुने छ । भने साँझ बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत हुने भएको छ ।