आत्मानन्द गोल्ड कप : तिजोकलाई टाईब्रेकरमा हराउँदै लेटाङ सेमिफाइनल प्रवेश

 


माङसेबुङ/लेटाङ फुटबल क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८ औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

 

 

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा तिजोक यूवा क्लब पाँचथरलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै लेटाङ मोरङले सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

 

खेलको निधारित समयमा दुबै टिमले गोल रहित बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा गोलकिपर समिर क्षेत्री नायक बन्दा लेटाङ मोरङले बाजी मार्यो । खेलको मेन अफ दी म्याच लेटाङ मोरङका गोलकिपर समिर क्षेत्री घोषित भए ।

 

 

यसैगरी भोलि मंगलबार पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारत र दुधे यूथ क्लब झापाबीच प्रतिस्पर्धा हुने खेलकुद विभाग संयोजक आत्म पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

 

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन हुने छ । भने, युथ अफ माङसेबुङले सह–संयोजनको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।

 

 

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।