
माङसेबुङ/आत्मानन्द गोल्ड कप १८ औं संस्करण फुटबल प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब मोरङ सेमीफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमीफाइनलमा प्रवेश गरेको हो ।

मोरङको जितमा ३ गोल सञ्जय धिमालले गरे । माङसेबुङ इलामका लागि भने ओसन राईले एक गोल फर्काए ।
खेलको मेन अफ दी म्याच सिरिजङगा मोरङका सञ्जय धिमाल घोषित भए । उनले नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी भोलि सोमबार तिजोग युवा क्लब पान्थर र लेटाङ फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक आत्मा पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी छन् । जसमा आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ र भारतबाट कञ्जङचङघा फुटबल क्लब सिलिगुडी पाहुना टोलीको रुपमा सहभागी रहेका छन् ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोह २०८१ को अवसरमा मंसिर ७ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

आइतबार सम्पन्न गोल्डकपको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, विशेष अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, आयोजक महासमारोहका अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ गाउँपालिका वडा ३ का वडाध्यक्ष जनम खम्बु र ५ का वडाध्यक्ष नरेन्द्र राई लगायत विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक संघ संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाईलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन हुने छ । भने, युथ अफ माङसेबुङले सह–संयोजनको भूमिका निर्वाह गर्ने जनाइएको छ ।












