राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्ती यसरी मनाइयो


माङसेबुङ/किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती मंगलबार संसारभर भव्यताका मनाएका छन ।

 

 

 

महागुरु फाल्गुनन्द लिङ्देन जन्मजयन्तीको अवसरमा झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खाको फाल्गुनन्द टोलमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितिमा महागुरुको शालिक अनावरण तथा माङहिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

 

 

यसरी महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाउने क्रममा यस वर्ष केर्खामा निर्माण गरिएको किरात तियेङलुङ माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट गरिएको थियो ।

 

 

त्यसैगरी झापाको दमक नगरपालिका वडा नं. ६ मा अवस्थित किरात युमा माङहिमको अवलोकन साथै सो माङहिममा स्थापित महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण समेत अङसीमाङ तथा अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट गरिएको छ ।

 

 

यसरी झापाको कमल गाउँपालिका र दमक नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाइएको किरात धर्मावलम्बीहरुको भनाई छ ।

 

 

 

महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा अङसीमाङ तथा अङसीमामाङज्यूहरु दमक बेलडाँगीमा अवस्थित किरात माङपोक्लुङ माङहिममा रहेको महागुरुको शालिकमा पनि पुगेर माल्यापणर््ा गर्नु भएको थियो ।

 

 

 

 

जन्मजयन्ती कहाँ कहाँ मनाइन्छ ?

 

 

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाइएको छ । भने, नेपालको विभिन्न जिल्लाहरुमा पनि भव्य रुपमा जन्मजयन्ती मनाएका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका छन् ।

 

 

 

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा महागुरु जन्मजयन्ती मनाएका छन् । त्यसैगरी प्रत्येक किरात माङहिमहरु र महागुरु फाल्गुनन्दको शालिकहरुमा समेत भव्यताका साथ जन्मजयन्ती मनाएका छन् ।

 

 

 

 

पछिल्लो समयमा नेपालमा मात्र नभई भारतको विभिन्न प्रान्त, भूटान, हङकङ, युके, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाएका छन् ।

 

 

 

इलामको माङसेबुङ ५, स्थित गुरु निजी आश्रम लारुम्बामा दिपावली तथा जलपान कार्यक्रम आयोजना गरी भव्य रुपमा जन्मजयन्ती कार्यक्रम मनाइएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव सवार रहेको सो कार्यक्रम गुरु निजी आश्रम अर्थ समिति र गुरु निजी आश्रम कृषि समितिको आयोजनामा सम्पन्न भएको थियो ।

 

 

 

कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले आशीर्वचन समेत दिनु भएको थियो । भने, इलामको माङसेबुङ ३, भञ्ज्याङमा रहेको महागुरुको शालिकका पनि जन्मजयन्ती मनाइएको आयोजक समितिले जनाएको छ ।

 

 

 

त्यसैगरी इलामको फाक्फोकथुम ३, आमचोकमा अवस्थित श्री सिद्ध किरात युमासाम माङहिमको आयोजनामा बृहत सांस्कृतिक/सांगीतिक कार्यक्रम आयोजना गरी महागुरु जन्मजयन्ती मनाइएको छ ।

 

 

 

 

महागुरु फाल्गुनन्दको कर्मभूमि पान्थरको लब्रेकुटीमा लब्रेकुटी, सिलौटी, फाल्गुनन्द खुल्ला पुरुष तथा महिला हाप म्याराथन २०८२ पर्यटन महोत्सवको रुपमा आयोजना गरी महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाएका छन् ।

 

 

 

ताप्लेजुङको फुङलिङ वजारमा अवस्थित किरात माङहिम र महागुरुको शालिकमा धार्मिक ¥याली सहित महागुरु फाल्गुनन्द लिङ्देन १४१औं जन्मजयन्ती सम्पन्न गरिएको छ ।

 

 

 

 

मोरङको लेटाङ ३, स्थित किरात हाङसाम माङहिम, केराबारी ७ स्थित मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द मिङसो माङहिम लगायत माङहिम र महागुरुको शालिकहरुमा भव्यताका साथ जन्मजयन्ती मनाइएको छ ।

 

 

 

 

 


किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक एवं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती भारतको दार्जिलिङ, गैरीगाउँ, फेन्चेटचरमा पनि भव्य रुपमा मनाइएको छ ।

 

 

 

 

किरात याक्थुङ चुम्लुङ संघीय समितिले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द १४१ औं जन्मजयन्ती एंव कियाचु फाल्गुनन्द समाज सुधार पुरस्कार समर्पण समारोह सम्पन्न गर्दै येतहाङ टिमलाई पुरस्कार समर्पण गरेको छ ।