विश्व शान्ति तथा मानव एकताको पक्षमा किरात धर्म : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ/किरात धर्मावलम्बीहरू सधैं विश्व शान्ति तथा मानव एकताको पक्षमा रहेको मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यूले बताउनुभएको छ ।

 

 

 

झापाको कमल गाउँपालिका–३‚ केरखा‚ फाल्गुनन्द टोलमा मंगलबार आयोजित मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १४१ औं जन्मजयन्ती समारोहमा आशीर्वचन दिनुहुँदा वहाँले सो कुरा बताउनु भएको हो ।

 

 

वहाँले भन्नुभयो ‘मानव मानवबीच बाँझेर के पाउने ? विश्व शान्ति मानव एकता होस् । सबैमा सद्भाव राखेर अगाडि बढैं भन्ने हाम्रो कामना र चाहना हो ।’

 

 

अहिले नेपालको वातावरण अप्ठ्यारो अवस्थामा रहेकोले सबै नेपाली मिलेर देशको रक्षा गर्नुपर्नेमा जोड दिनुहुँदै वहाँले भन्नुभयो‚ ‘नेपाली जनता नबाझौं, नजुधौं, नबाझी‚ नजुधी देशलाई विकास गरौं । देशलाई उन्नतिशील बनाऔं यहीँ नै मेरो आशीर्वाद छ ।’

 

 


अङसीमाङज्यूले पृथ्वीको रक्षाका लागि सम्पूर्ण मानिस गम्भीर हुनुपर्ने उपदेश दिनुभयो । ‘हामीले पृथ्वीलाई खन्नु‚ जोत्नु‚ सुरुङ खन्न मात्र जानेका छौं’ वहाँले थप्नुभयो‚ ‘पृथ्वीलाई बिमार लाग्यो भने सकिन्छ । पृथ्वी नष्ट भयो भने हामी पनि सकिन्छौं ।’

 

 

 

वहाँले पृथ्वीमा समय समयमा प्रलय भएको उल्लेख गर्नु हुँदै भविष्यमा पनि यस्तो प्रलय हुनसक्ने सम्भावना रहेको बताउनु भयो । तर‚ यस्तो अवस्था आउन नदिन मानिसले माङको सेवा गर्नुपर्ने सुझाव समेत दिनुभएको थियो ।

 

 

 

यसरी महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाउने क्रममा केर्खामा निर्माण गरिएको किरात तियेङलुङ माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव सवार भएको थियो ।