
डकेन्द्रसिंह थेगिम
नेपालको बहुल सांस्कृतिक तथा धार्मिक इतिहासमा किरात धर्म एक प्राचीन र मौलिक परम्परा हो, जसले प्रकृतिपूजक, मानववादी तथा नैतिक मूल्यहरूलाई उच्च सम्मान दिएको छ । यस धर्मका महान दार्शनिक, अध्यात्मिक युगपुरुष तथा समाज सुधारकका रूपमा महागुरु फाल्गुनन्द लिङ्देनको नाम विशेष आदरका साथ लिइन्छ । उहाँको योगदानले किरात धर्मलाई पुनः जागरण दिलाउनुका साथै सम्पूर्ण किरात समुदायलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ ।
जन्म र बाल्यकाल
महागुरु फाल्गुनन्द लिङ्देनको जन्म वि.सं. १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिका–२ साविक इभाङ गाविस –५ को चुक्चिनाम्बा डाँडागाउँमा पिता जगुनबाज लिङ्देन र माता हंसमति बेघाको कोखबाट साधारण परिवारमा जन्मनु भएको थियो । बाल्यकालदेखि नै एकान्तप्रेमी, मृदुभाषी, कम बोल्ने, गम्भीर चाल चलन भएको धार्मिक प्रवृत्तिका धनी फाल्गुनन्दको ज्योतिष नाम नरधोज लिङ्देन भएता पनि बालक दीर्घायु रहुन् भन्ने स्थानीय परम्परा, प्रचलन र विश्वास अनुसार जन्मेको केही दिनमा मै लोहा (फलाम) को बाला र कल्ली बाँधी दिएर गाउँका बुढीपाकीहरुले फलामसिंह भनि नामकरण गरिदिए । उनै फलामसिंह आफ्नो कडा साधना, योग ध्यान र तपस्याले फाल्गुनन्द तपस्वी हुनुभयो ।
मुहिङगुम अङसीमाङको दर्शन र मूल सन्देश
मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले आफ्नो जीवन दर्शनमा केही विशिष्ट मुल्यहरुलाई केन्द्रमा राख्नुभएको छ, जुन आजको सामाजिक परिवेशमा अत्यन्त सान्दर्भिक छन् –
सत्यता, शुद्धता, सरलता : उहाँले जीवनमा सत्य बोल्न, चोरी–जारी नगर्नु, गुरु, माता– पितालाई निचा मानी निन्दा नगर्नु, परस्त्री गमन, हत्या बध नगर्नु, शुद्ध आचरण गर्नु सरल जीवनयापन गर्न जोड दिनुभएको छ ।
मानवता, अहिंसा, विश्व शान्ति र प्रेम : उहाँको दर्शनका अनुसार मानवतानै सर्वोच्च मूल्य हो । मानव मानवबीच भ्रातृत्वको भावनात्मक एकता अपरिहार्य हो । यसबाट विश्वमा शान्ति आउँछ । प्राणी बध, मद्यपान, दुव्र्यसन, हिंसा जस्ता कुरीतिहरूले समाजलाई पथभ्रष्ट बनाउँछन् ।
प्रकृति‑परिस्थितिसँँग सामञ्जस्यता : किरात धर्म परम्परामा प्रकृति पूजा–संस्कार महत्वपूर्ण छन् । उहाँले रुख पात, जलस्रोत, पहाड पर्वत–नदीनाला जस्ता प्राकृतिक तत्वहरूप्रति सम्मान जनाउनु पर्दछ ।
शिक्षा र मातृभाषा : समाज सुधारका लागि शिक्षा अपरिहार्य ठानेर उहाँले मातृभाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने कुरा जोड दिनुभएको छ र यस बारेमा वि सं १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा भएको ऐतिहासिक बिराट भेलामा बुलन्द आवाज उठाउनु भएको जगजाहेर छ । समाज सुधार र जात भेदको विरुद्ध : उहाँले उठाउनु भएको विश्व मानव एकता नै सामाजिक विभाजन, जातीय भेदभावको व्यवहार विरुद्ध आवाज हो ।
सत्य धर्म मुचुल्का र समाज सुधारमा योगदान

महागुरु फाल्गुनन्द लिङ्देनले आफ्नो जीवन किरात धर्म र समुदायको सेवा र उत्थानमा समर्पित गर्नुभयो । उहाँले सामाजिक कुरीतिहरू, अन्धविश्वास, व्यसनको विरुद्ध आवाज उठाउँदै किरात समाजलाई सुधार्ने आन्दोलन चलाउनु भयो । उहाँले पान्थर जिल्लाको चोकमागुस्थित लब्रेकुटीमा वि सं १९८८ साल बैशाख २४ गते पल्लो किरात लिम्बुवानका १० लिम्बू १७ थुमका तुतु तुम्याहाङ (भद्र भलादमी) सुब्बा, थरी, तालुकदार, गन्यमान्य बुद्धिजीवीहरुको बृहत् ऐतिहासिक भेला गराई किरात समुदायमा ब्याप्त कुरीति कुसंस्कार बिरुद्ध ७ बुँदे सत्य धर्म मुचुल्का खडा गर्नुभयो । जुन मुचुल्का किरात समाज सुधारको लागि कोशे ढुंगा सावित भएको छ र किरात समुदायमा बुद्धको पञ्चशील, इसाईको दस आज्ञा भने झै किरातको सप्त शीलको रूपमा ग्रहण गरिन्छ ।
उक्त मुचुल्कामा समेटिएका ७ बुँदाहरु संक्षिप्तमा यसप्रकार छन –
१) छोरीचेलीको सोतरीत नखानु । खाएमा सूर्य चन्द्र रहुञ्ज्याल नर्कवास रहने शास्त्रको मत रहेको ।
२) देवपितृ लगायतका विभिन्न कार्जेमा जीवघात नगर्नु । जीवघात गरे परलोकमा पाप बोक्नुपर्ने ।
३) शुरुआतमा लिम्बू जातले सुँगुर, कुखुरा नखाएकोले अब उप्रान्त नखानु ।
४) मृतक सुतक बार्दा १० महिना आमाको गर्भमा रहेर धर्तीमा आएको हुँदा मृत्युु भएको ९ दिन बारी १० औं दिनमा शुद्ध हुने ।
५) वृद्धि सुतकमा २२ दिन सुत्केरी बार्नु ।
६) कुल कुटुम्बसँग भेटघाट हुँदा मंस दिने खाने नगर्नु ।
७) कृयापुत्रीले मृतकलाई मंसको पिण्ड नचढाई अब उप्रान्त अदुवा, फलफूल र भात चढाउनु ।
किरात धर्मको पुनः जागरण तथा पुनः उत्थान
महागुरु फाल्गुनन्द लिङ्देन किरात धर्मको दार्शनिक आधार निर्माण गर्ने महामानव हुनुहुन्छ । उहाँले किरात धर्मको मौलिक र वैज्ञानिक पक्षलाई प्रस्ट्याउँदै नयाँ पुस्तालाई धार्मिक शिक्षा र संस्कारमा जोड्नुभयो । छरपष्ट भएको किरात साम्जीक मुन्धुमलाई लिखित रुपमा संहिताकृत गर्नु भई मुन्धुम र संस्कारमा एकता गर्नुभयो । उहाँको प्रेरणाले किरात धर्मले आफ्नै अस्तित्व र गौरवको पुनःस्थापना गर्न सकेको छ ।
किरात धर्ममा उहाँकै योगदानका कारण लोपोन्मुख किरात धर्मको पुनः जागरण एवं पुनः उत्थान सम्भव भएको छ । आज विश्वभरी छरिएर बसेका किरात धर्मावलम्बीहरुले गर्वका साथ आफ्नो मौलिक भाषा र लिपिमा किरात साम्जीक मुन्धुम पठन गरेर आफ्नो धर्म संस्कारको परिपालन र अवलम्बन गर्दछन् ।
आजको सामाजिक सांस्कृतिक प्रसंगमा महत्व
आजको विश्व जहाँ वातावरणीय संकट, सामाजिक असमानता, जातीय विभाजन र आधुनिक उपभोगवादले चुनौती दिइरहेका छन्, त्यहाँ महागुरु फाल्गुनन्द लिङ्देनका विचार‑सन्देशहरु अत्यन्त सान्दर्भिक देखिन्छन् । जस्तै – मासु‑उपभोग, वनक्षय र मद्यपान जस्ता विषयहरुमा उहाँले आवाज उठाउनु भएको छ आजकालको स्वास्थ्य, वातावरण र सामाजिक समरसता‑सम्बन्धित बहससँग यी विचार मेल खान्छन् ।

– मातृभाषामा शिक्षाको उहाँको माग, आज बहुभाषिक शिक्षा नीति र भाषा अधिकारको संयन्त्रसँग मेल खान्छन् ।
– समानता, अहिंसा, मानवताको उहाँको दर्शनले आजका सामाजिक आन्दोलनहरु (जातीय न्याय, लैंगिक समानता, आदिवासी अधिकार) सँग प्रतिध्वनित हुन्छ । यसरी हेर्दा, महागुरु फाल्गुनन्दको जीवन र विचार केवल किरात समुदायमा मात्र सीमित नभएर समग्र नेपाली समाजका लागि उपयोगी स्रोत बन्न सक्छ ।
राष्ट्रिय मान्यता र सम्मान
नेपाल सरकारले महागुरु फाल्गुनन्द लिङ्देनको योगदानलाई कदर गर्दै उहाँलाई वि. सं २०६६ साल मंसिर १६ गते नेपालको १६ औं राष्ट्रिय विभूति घोषित गरेको छ – जसले उहाँको योगदानलाई राष्ट्रिय मान्यता दिइएको हो । वि.स. २०५० सालमा नेपाल सरकारद्वारा महागुरु फाल्गुनन्दको नाममा रु १५/– को हुलाक टिकट निष्कासन, विद्यालय पाठ्यक्रममा संक्षिप्त जीवनी र झापाको दमकदेखि माङ्सेबुङ हुँदै चिसोपानी पञ्चमी, रबि जोडिने सडकलाई २०५५ सालमा फाल्गुनन्द मार्ग नामकरण गरिएको छ । केही विगत बर्षहरुदेखि १ नं प्रदेश सरकारद्वारा कार्तिक २५ गते फाल्गुनन्द जयन्ती सार्वजनिक बिदा घोषणा गरिएको छ । प्रत्येक वर्ष विश्वभरी छरिएका अनुयायीहरुले उहाँको सम्झनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी फाल्गुनन्द जन्मजयन्ती विश्वका कुना–कुनामा धूमधामसँग मनाउने गरिएको छ ।
वास्तवमै भन्ने हो भने श्रद्धालु भक्तहरुले मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई ईश्वरीय अवतार पुरुषको रुपमा अंगीकार गर्दछन् । उहाँको शालिकहरु निर्माण गरी गाउँ, टोल क्षेत्रहरूमा धमाधम स्थापना गर्ने बढ्दो क्रममा छ । उहाँका अनुयायीहरुले उक्त शालिकहरु र घरघरमा प्रतिमा राखेर श्रद्धापूर्वक पूजा पाठ गर्दछन् ।
निष्कर्ष
महागुरु फाल्गुनन्द लिङ्देन किरात धर्मका महान दार्शनिक, एक कुशल समाज सुधारक, अध्यात्मिक मार्गदर्शक र यथार्थवादी चिन्तक पनि हुनुहुन्थ्यो । उहाँका विचार दर्शन र उपदेशहरु युग–युगसम्म किरात समुदायमा मात्र नभई सम्पूर्ण नेपाली समाजको लागि मार्ग दर्शक रहनेछन् । वर्तमान पुस्ताले उहाँको विचारधारालाई आत्मसात गरी समाजमा नैतिकता, सत्यता, एकता र शुद्धताको संस्कार फैलाउने हो भने मात्रै उहाँको योगदानको साँचो सम्मान हुनेछ र समाज सभ्य र सिर्जनशील बन्नेछ ।
जय किरात !
मुहिङगुम अङसीमाङ फाल्गुनन्द – अमर रहुन् !
मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन १४१ औं जन्मजयन्ती – सफल पारौं ।












