सिद्धि शक्ति प्राप्त गर्ने अवसर आएको बेला चिनेनौं भने फर्केर जानेछ : महागुरु फाल्गुनन्द


                                                                                                                             नन्दकुमार नेम्बाङ

 

विषय प्रवेश

 

नेपालको सुदुर पुर्वी इलाम जिल्लाको इभाङस्थित चुक्चिनाम्बा गाउँमा वि सं १९४२ साल कात्तिक २५ गते आइतबार जन्मनु भएका महागुरु फाल्गुनन्द लिङ्देनज्यूको बारेमा थाहा नहुने समुदाय सम्भवत थोरैमात्र होलान् । उहाँले समाज रुपान्तरणका लागि दिएको योगदानको सम्बन्धमा विभिन्न कोणबाट बहस पैरवी भइरहेको छ । कसैले नकारात्मक टिप्पणी गरिरहेका छन् भने कसैले सकरात्मक बहस पैरवी पनि गरिरहेका छन् । यथार्थमा महागुरु फाल्गुनन्द को थिए र उनले के के गरे भन्ने कुरा अहिले बौद्धिक अध्ययन् र खोजीको विषय पनि बन्न थालेको छ ।

 

 

हुन त उहाँको विषयमा विभिन्न प्रकारका कृति र अभिलेखहरु धेरै प्रकाशनमा आइसकेको छ । उनले समाजलाई दिन खोजेको उपादेयता र महत्वका बारेमा सघन बहस र अध्ययन प्रारम्भ भएको छ । यो अत्यन्तै सकरात्मक पाटो हो । तत्कालिन निरङ्कुश राजतन्त्र र जहानीया राणा शासकीय शक्तिको बीचमा उहाँले आफ्नो समुदायको लागि कदम उठाउनु अवश्य पनि सजिलो थिएन ।

 

 

त्यतिमात्र नभएर तत्कालिन याक्थुङ/लिम्बू समुदायमा सुब्बाहरुको हुकुमी शासन थियो । प्रायः जसो उनीहरू राजासँग सिधा सम्पर्कमा थिए । बाँकी याक्थुङ/लिम्बूहरु अज्ञानता, अशिक्षा र गरीबीको चपेटामा डुबेका थिए । उनीहरूको दैनिकी रासलिला, जुवातास, मदमदिरा सेवन गर्दै कूलतमा रमाउनुमा वितिरहेको थियो । यस्तो जटिल अवस्थामा महागुरु फाल्गुनन्द लिङ्देनले समाज रुपान्तरण र समाज सुधारका लागि जोखिमपूर्ण कदम उठाएका थिए । उहाँले समाज रुपान्तरण र समाज सुधारका लागि उठाएका केही विषय माथि संक्षेपमा छलफल गरौँ ।

 

समाज रुपान्तरणका जोखिमपूर्ण यात्रा

 

महागुरु फाल्गुनन्द लिङ्देनले समाज रुपान्तरणको अभियानको थालनी गर्दा तत्कालिन याक्थुङ/लिम्बू समाज सम्पूर्ण रुपमा बिलखबन्दमा थिए । धर्म, कर्म, ज्ञान, शिक्षा र चेतना शून्य अवस्थामा थियो । यहीँ समयमा उनले समाज सुधारको अभियान शुरु गरेको थियोे ।

 

 

सोधकर्ता लिओनेल कप्लानका अनुसार, तत्कालिन लिम्बुवान भूमिमा बसोबास गर्ने लिम्बूहरु दुई समूहमा विभाजित थिए । एउटा समूह किपट भएको र अर्को किपट नभएको । यो प्रावधानले याक्थुङ लिम्बूहरुको भूमि उपयोग नीति असमान देखिन्छ । यो असमानताले लिम्बू–लिम्बूबीचमा फरक खालको बेमेल थियो ।

 

 

एकातिर कानुन विहीन हुकुमी शासनको कारण अलग अलग भएर बसेका याक्थुङ/लिम्बूहरु किपट हुने र नहुनेबीचमा पनि बेमेलताको गहिरो खाडल थियो । अर्कोतिर धर्म, कर्म, ज्ञान र शिक्षा विहीन भएर सामाजिक र मानसिक रुपमा विभाजित थिए । यस्तो समयमा महागुरु फाल्गुनन्दले समाज रुपान्तरणको लागि यात्रा तय गर्नुभएको थियो ।

 

 

याक्थुङ लिम्बू÷आदिवासीहरुमा व्याप्त यस्तो समस्याका बाबजुद फाल्गुनन्दले विभिन्न गाउँ वस्ती चहार्दै धर्म, कर्म संस्कार र भाषा साहित्यको प्रचारप्रसार गर्दै हिँड्नुभयो । उति बेलाका लिम्बुवान शासकहरु आगे सुब्बा, सुब्बा, कारबारी, भद्रभलादमी सबैलाई भेटेर धर्म कर्म सुधारका लागि शिक्षा दिए, सम्झाउने कोशिश गरे । उहाँका दैवी ज्ञान गुणका कुराहरू कसैले सुने जस्तो गरे भने कसैले उल्टो गाली गलौज गरे । यी कुराहरू उहाँले आफ्नो चेलाहरुलाई यसरी व्यक्त गर्दथे ।

 

चेङमा तेमाल्ले किरात सारे सिक तुक्पा,
मेन्जेङमा फाल्ले मामाङिन कुयाक्लेबा!
एछुम चोगुङबे, आप्फा चोगुङबे?
आबुला सानू फोवा किरात सासे,
मामाङ इङघङ मेन्जेङेग आफाल्ले पोखेआङबे ?
मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन २०७३, पेज १९–२० ।

 

 

भावार्थ : भनौं भने भद्रभलादमीहरु रिसाउने,
नभनौं मेरो आराध्यदेवी रिसाउने, म के गरौँ कसो गरौँ ।
प्यारा किरात सन्तति हो !
मातादेवीको सन्देश नभनेर कहिले हुन्छ ।
हामीले माथिल्लो पंक्तिमा छलफल गरिसकेका छौँ । महागुरुले गाउँ गाउँ घुमेर धर्म कर्मको प्रचारप्रसार गर्दाको समयमा कुन अवस्थाको समाज थिए भनेर । उहाँलाई गाउँमा जाँदा दुनियाँ उपमा दिएर खिशीटिउरी गर्थे । गाली गलौज गर्थे, यो क्रम अहिलेसम्म जारी रहेको छ ।

 

 

चरम संकटमा पुगेको समाजलाई रुपान्तरण गर्नका लागि अभियानमा जाँदा कतिपय ठाउँमा भौतिक रुपमा सामाजिक बहिस्करणमा परेका थिए भने अध्यात्मिक हिसाबले आफ्नो आराध्यदेवी माताले जसरी भए पनि पिछडिएका आफ्नो समाज सुधारका लागि अगाडि बढ्नुपर्छ भन्ने देवआज्ञा भएकोले महागुरु फाल्गुनन्द धर्म संकटमा परेको देखिन्छ ।

 

 

यहीँ दोहोरो चपेटामा परेका महागुरुले आफ्नो अनुयायीहरुलाई राखेर आफ्नो वेदना पोखेका हुन । उनले भनेका छन् भनौं भने आफ्नो दाजुभाइ किरातहरु रिसाउने, नभनौं भने मेरो आराध्यदेवी रिसाउने । म के गरौँ कसो गरौँ त । फेरि यतिबेला पनि मेरो आराध्य मातादेवीको सन्देश नसुनाएर कहिले सुनाउनु मेरो किरात दाजुभाइहरुलाई ।

 


सिद्धि–शक्ति आउने कर्म गरे आउँछ बेवास्ता गरे हराउँछ

 

 

नेपाली उखान छ जस्तो कर्म गर्छौ उस्तै फल पाउँछौ ! मानिसले राम्रो कर्म गरे राम्रै फल पाउँछ र नराम्रो कर्म गरे नराम्रो फल पाउँछ । कुलतको संगत गरे कुलतमा फस्छ । यो आम मानिसको सामान्यतया जिउने शैलीमा भर पर्ने कुरा हो ।
यस्तै समाज रुपान्तरणका लागि बेला बेला समय आउँछ जुन समयलाई चिन्न सकेको खण्डमा या बुझ्न सकेको खण्डमा उपयुुक्त परिणाम आउनेगर्छ । तर त्यस समयलाई पछ्याउन सकिएन भने हातपर्न लागेको उपलब्धि पनि गुम्न सक्छ ।

 

 

यहीँ कुरालाई महागुरुले संकेत गर्दै भन्नुभएको छ !
’कन माता हाङसाम्मिन माःमा बाचाल्ले माबेक्लो !
तामा बाचाल्ले तारो, ताइल्ले नुरिक कुसिङ निप्माआङ तेम्मा लाप्मारो ! कन्निन माङवा हाङ्वा खोमा लाम्लो ।
भावार्थ ः यो आउने–जाने शक्ति आवस् भन्ने बाचाले आउँछ !
बेवास्ता गरे फर्किन्छ÷हराउँछ ।
आएको बेला राम्रोसँग चिनेर सम्हालेर राख्नु ।
यो नै सिद्धि शक्ति पाउने आधार हो ।

 

 

राम्रो चिज पटकपटक फर्केर आउँदैन । आएको बेला विवेकशील भएर यसलाई आत्मसात गर्नुपर्छ । यदि आएको बेला त्यो शक्तिलाई चिनिएन भने फर्केर जान्छ । त्यो शक्ति आएको बेला जसले चिनेर आत्मसात् गर्दै सम्हालेर राख्छ उसले शक्ति आर्जन गर्नेछ ।

 

 

महागुरु फाल्गुनन्दले यो पनि भन्नुभएको छ कि, शक्ति आर्जन गर्नका लागि उसको प्राप्तिका लागि भक्ति गरेर माग्नुपर्छ । अनि मात्र आउँछ ! यसलाई तामा पाचाल्ले ता रो! भन्नु भएको छ । आफ्नो अगाडि घुमिरहेको शक्तिलाई विवेकले चिनेन र सम्हाल्न सकिएन भने त्यो फर्केर आउने छैन् भनेर सचेत पनि गराउनु भएको छ ।

 

 

विशेषगरी आफ्नो याक्थुङ÷लिम्बू समुदायलाई महागुरुले धेरै सम्झाउने प्रयास गरेका छन् । जोसँग धर्म, कर्म, मुन्धुम, ज्ञान र शिक्षा सबै समाप्त हुँदै गएको थियो । माङको नाममा बली पूजा गर्नाले दैवी शक्ति ह्रास हुँदै गएको थियो । छोरीचेलीको नाममा हक्तबा माग्ने, विभिन्न वहानामा अनेकौं सोतरीत माग्दै खाने, सुनौली–रुपौलीका नाममा घुमाउरो तरिकाले चेलीबेटी बेचबिखन गर्नाले असामाजिक बेथितिको प्रचलन बढ्दै गएकाले आर्थिक र सामाजिक रुपमा धरासयी बन्दै गएको थियो ।

 

 

समाज सुधारको मूल आधार स्तम्भ धर्म नै भुलिसकेका आफ्नो सन्ततीहरु राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा विचलित हुँदै गइरहेको थियो । यहीँ बेला महागुरु फाल्गुनन्द लिङ्देनको याक्थुङ÷लिम्बू समुदायलाई गाउँ गाउँ घुमेर सम्झाउने प्रयास गर्नुभएको थियो । यति दुःख कष्ट गरेर आफ्नो समुदायको उत्थानको लागि सम्झाउने–बुझाउने कोशिश गर्दा पनि सुनुवाइ नभएपछि उहाँले सचेत गराउँदै भन्नुभयो ! यस्तो (सिद्धि शक्ति प्राप्त गर्ने) अवसर पटक–पटक आउँदैन । आएको बेला सम्हालेर राख्नु, यो अवसर गुमायौ भने फर्केर आउँदैन हैं ।

 

 

मैले गरेको कर्महरु नयाँ, काल्पनिक र बनावटी होइन

 

महागुरु फाल्गुनन्द लिङ्देनले करिब करिब ८ वर्षको कलिलो उमेरमै इलामको माइनदि, देउमाई र मेक्वा माइको संगम भूमि खत्रक्पामा ज्ञानसिद्ध गर्नुभएको थियो । उहाँले भौतिक जीवनमा आएपछि विर्सेका अघिल्लो जन्मका कुराहरू युमामाङले लाम्पातेको रुखमा बाँधेर, माई नदिको पानीमा चोबलेर सम्झाएका थिए । त्यहीँ बेला उहाँलाई किरात लिपिको दर्शन/अध्ययन पनि गराएका थिए ।

 

 

त्यसपछि उहाँले सेन्छेई फक्ताङलुङ लगायत थुप्रै शक्तिपिठहरुमा कठोर साधना र तपस्या गर्नुभएको थियो । त्यसबाट प्राप्त ज्ञान र शिक्षालाई उहाँले आफ्नो समुदायको सघन बस्तीमा गएर सम्झाउने बुझाउने प्रयास गर्नुभएको थियो । यसरी धर्म प्रचारप्रसार गर्दै जाँदा थुप्रै अवहेलनाहरु खेप्नुपरेको थियो । नयाँ साधु आएर हाम्रो संस्कार संस्कृति बिगार्यो भन्ने आरोप खेप्नुपरेको थियो । पूर्वको लिम्बू राजा भन्ने आरोप पनि लाएकै थियो यहीँ बेला उहाँले भन्नुभएको छ ।

 

आबुला सा नु फोक्वा किरात सासे,
कन इम्बि मेन कुसङ मेन, खाम्याङ कुवात् मेन्लो ।
ओत् तागेरा निङ्वाभुमाङ मामाङ इङघङ,
निस्से पात्चा पान्लक्किन पातुङ चेखुङधाङलो ।
मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन २०७३, पेज १९
भावार्थ : प्यारा किरात सन्ततिहरु, मैले भनेको गरेको÷भनेको यी कुराहरु नयाँ होइन र बनावटी पनि होइन । ओत तागेरा निङ्वाभुमाङ मातादेवीको सन्देश, सत्य वचनलाई भन्ने मेरो जिम्मेवारी भनिराखें हैं ।

 

 

महागुरु फाल्गुनन्दले जति कर्म गरेका छन् ती सबै नयाँ उत्पत्ति गरिएको होइन भन्ने कुरा घाम–जुन जत्तिकै छर्लङ्ग छ । उहाँले फेजिकुम फेदाङमा, सावाला साम्बा, येभुङ–येबा, येभुङ–येमाहरुले आफ्नो आफ्नो तरिकाले गरी ल्याएको मुन्धुमलाई एकीकृत गरेर लिपिवद्ध गरेका छन् । यसैलाई अहिले किरात साम्जिक मुन्धुम भनेर कर्मसंस्कार र कर्मकाण्डहरुमा प्रयोग हुँदै आएको छ ।

 

 

उहाँले दिएका उपदेश तथा शिक्षाहरु प्रकृतिप्रेमसँग सम्बन्धित छ । इश्वरको नाममा निर्दोष प्राणीको हत्या नगर्नु, खोलानाला, देवी देउरालीको सेवा पूजा गर्न उत्प्रेरित गर्नु यी सबै प्रकृतिको संरक्षणका लागि गरिएको अभियान हो । यो कुरालाई कुनै पनि दृष्टिकोणबाट नयाँ उत्पत्ति गरिएको ठहरिँदैन ।

 

 

त्यस्तै छोरीचेलीको सोतरित खान नहुने, छोरा सरह छोरीलाई समान शिक्षा दिनुपर्ने, माङहिम बनाएर सेवा अनुष्ठान गर्ने, हरेक माङहिम परिसरमा निसामहिम स्थापना गरेर आफ्नो मुन्धुम र भाषाको अध्ययन अध्यापन गराउनु भन्ने उहाँको उपदेशहरु समाज सुधारका सूत्र हुन । यसैगरी शुभकार्य र अशुभ कार्यमा मदमदिरा र मासुमंस प्रयोग नगर्ने भन्ने सन्देशहरु समाज सुधारका लागि अत्यावश्यक उत्प्रेरणा हो ।

 

 

त्यसैले महागुरु फाल्गुनन्द लिङ्देनले भनेका छन् ! मैले जेजति कर्म गरेको छु यो कुनै काल्पनिक र नयाँ चिज होइन । किरात सन्ततिको हराउँदै गएको धर्म, कर्म संस्कार र कर्मकाण्डहरुलाई सुधार गर्दै पुनःस्थापना मात्रै गरेको हो । लोपोन्मुख रहेको किरात लिपि, भाषा र साहित्यको उत्थान गर्दै विर्सिँदै गएको तागेरा निङवाभुमाङको उपदेश, ज्ञान र शिक्षाहरु सत्य वचनका रुपमा मैले मेरो समुदायलाई भन्नुपर्ने कर्तव्य पूरा गरेको छु है ।

 

 

अन्त्यमा
महागुरु फाल्गुनन्द लिङ्देनको केही दिव्यवाणीलाई संक्षेपमा छलफल गर्यौ । यसमध्ये विशेषगरी दुईवटा उपदेशमा ध्यानाकर्षण भएको हुनुपर्छ ।
पहिलो : मा ता हाङसाम्मिन तामा पात्चारे तारो ! मामा पात्चाले माबेक्लो । भावार्थ : आउने जाने शक्तिको स्रोत आउनुपर्छ भनेर भक्ति गरे आउँछ बेवास्ता गरे हराउँछ/आउँदैन ।

 

महागुरु फाल्गुनन्द लिङ्देनले हामीलाई मुख्य सिद्धि र शक्तिको स्रोतको रुपमा किरात साम्जिक मुन्धुम, माङसिवाखाहुन र सत्य धर्म मुचुल्का हस्तान्तरण गरेका छन् । यसबाहेक अध्यात्मिक ज्ञान र शिक्षा पनि दिएका छन् । यी स्रोतहरु विश्वमा छरिएका किरात समुदाय र मानव जातिका लागि अमूल्य निधि हुन । यसलाई चिन्न सक्यौं, बुझ्न सक्यौं र मान्यौं भने हामीले चाहेको मुक्ति प्राप्त गर्ने छौँ । यसलाई चिनेनौं र बेवास्ता गरिरह्यौं भने हाम्रो अगाडि रहेको शक्तिको स्रोतको उपयोग गर्न पाउने छैनौं, भन्ने सन्देश यो दिव्य सन्देशले दिएको छ ।

 

दोस्रो : इम्बि मेन कुसङ मेन् खाम्लुङ कुवात् मेन्लो । भावार्थ : मैले गरेको कर्म नयाँ होइन र काल्पनिक वा बनावटी पनि होइन । महागुरु फाल्गुनन्दले मैले जेजति धर्म र कर्म गरेको छु, यो कुनै पनि नयाँ उत्पत्ति गरिएको होइन र यो चिजहरु काल्पनिक पनि होइन ! भनेका छन । विशेषगरी अहिले नयाँ विचार र नयाँ धर्म भन्दै अलमलमा रहेका साथीहरूका लागि यो अमूल्य सन्देश हो । याक्थुङ/लिम्बू समुदायलाई फुटायो भन्ने आरोप लगाउने मित्रहरूका लागि पनि यो अचुक सन्देश हो ।

 

 

महागुरुले देखाएको बाटोमा आउन सक्यो भने महागुरुले उल्लेख गर्नुभए झैँ सिद्ध ज्ञान र शक्तिको उपयोग गर्न पाइनेछ । नत्र यसको विरोध मात्रै गर्दै बस्ने हो भने तपाईंको हातमा यो चिज हुने छैन । तर जसले आत्मसात् गरेको छ उसले अवश्यम्भावी उपयोग गर्न पाउनेछ र सम्पूर्ण रुपमा मुक्ति पाउनेछ ! भन्ने निष्कर्ष निकालेको छु । तसर्थ : म भन्छु, प्रथम कुरा महागुरु फाल्गुनन्दको दिव्य सन्देशको आत्मसात् गर्दै उहाँको मार्गमा लागौं, मनपर्दैन भने विरोध नगरौं ।

 

 

सन्दर्भ सामग्रीहरु :
१) किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समिति, मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन, २०७३ तेस्रो संस्करण ।
२) महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान, महागुरु फाल्गुनन्द २०६६ प्रथम संस्करण ।
३) लिओनेल कपलान, पूर्वी नेपालमा लिम्बू जातिको किपट र सामाजिक फेरबदल, नेपाली संस्करण सन् २०१० ।
४) किरात समाचार मासिक, वर्ष २२ अंक १ कात्तिक २०७३ ।
५) मुहिङगुम अङसीमाङ फाल्गुनन्द विशेषाङ्क, विभिन्न अंकहरु ।