वि.सं. १९८८ बैसाक २४ को सत्यधर्म मुचुल्काको परिपुरक मुचुल्का


                                                                                                                                                             आङबुहाङ अबोध अविरल

 

परिपुरक मुचुल्का

 

वि.सं. १९८८ बैसाक २४ गते गरिएको सत्यधर्म मुचुल्का चर्चामा रहेको छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पहलमा सत्यधर्म मुचुल्काको निर्माण गरिएको थियो । मुचुल्का निर्माण गर्न चुम्लुङमा पल्लो किरात १७ थुम १० लिम्बुवानका प्रतिनिधि र सर्वसाधारणलाई निमन्त्रणा गरिएको थियो । सो चुम्लुङले ७ बुँदे सत्यधर्म मुचुल्काको निर्माण गरेको थियो । तर, सोही साल मंसिर २४ गते पनि अर्को मुचुल्का उठाइएको थियो । बैसाक २४ गते उठाइएको मुचुल्का निर्माण गर्ने चुम्लुङमा लिम्बू बाहेक ‘अरु जातिलाई आमन्त्रण गरिएन भन्ने गुनासो गुरु फाल्गुनन्दकै चेला अनुयायी किरात राईहरुबाट आएको’ (तुम्बापो र नेम्बाङ, १०४) हुनाले अर्को परिपुरक मुचुल्का निर्माण गरिएको देखिन्छ ।

 

 

१९८८ मार्ग २४ मा सम्पन्न दोस्रो चुम्लुङ सम्पन्न भयो । सो चुम्लुङले यस अघि बैसाक २४ गते गरेको मुचुल्काका सबै बुँदाहरुलाई समर्थन गरेको छ । त्यहाँ लेखिएको छ ‘गये बैसाक २४ गते ४ मा पैला चुम्लुङ भै लेखाएका माथि दफाको थिती बन्दोवस्तमा मंजुर छौं’ भन्ने भाषा परेको छ ।ंं यो मुचुल्का अघिल्लो मुचुल्काको परिपुरक मुचुल्काको रुपमा देखिन्छ ।

 

चार बुँदामा थप सुधार

 

यस मुचुल्कामा चारवटा बुँदामा ‘थप सुधार’ भनेर लेखिएको छ । सुधार गरिएको बुँदामा पहिलो बुँदामा ‘१० वर्ष नाघेको वा ननाघे पनि कर्म चलेको ९ दिन वारी १० दिनमा काज क्रिया गर्ने, १० वर्ष मुनी ४ वर्ष उभो ३ दिन तहाँदेखि उधोकोलाई १’ दिनमा काजक्रिया गर्ने उल्लेख छ । दोस्रो बुँदामा चुम्लुङमा सहभागी चोकमागु निवासी मनरोती लिम्बुनीले ‘बेहुली मैतालु पु¥याउन जाँदा रु. लिने गरेकोले के हुन्छ नखाने भन्ने थिति हवस्’ भन्ने प्रस्तावलाई पास गरेको छ । मुचुल्कामा ‘बेउली मैतालु पु¥याउन जानेहरु दुःख सास्ती दस्तुर लिने दिने नगर्ने’ भन्ने उल्लेख गएिको छ ।

 

 

तेस्रो बुँदामा श्रीमानले ‘साइमुन्द्री रित’ नतिरी श्रीमतीले जारी गरी गए र बिवाह खर्च लिएमा पूर्व श्रीमतीको निधन भए जुठो बार्नु पर्ने उल्लेख छ । चौंथो बुँदामा धान नाच धानको थन्क्याउदा मंसिर महिनामा मात्र नाच्नु पर्नेमा वर्षै भरी चौरमा तरुनी तन्नेरी भेट भएर ४०÷५० नाच्ने भइ घिनलाग्दो भएकोले ‘हिले सो धान ननाच्नु नाच्न नदिनु बन्द गर्ने’ उल्लेख गरेको छ । त्यसबेला पान्थरका विभिन्न खलहरुमा भेला भएर बाह्रै महिना धान नाच्ने चलन शुरु भएको रहेछ । यहाँ झरी बादलका महिनामा धान नाच बन्द गर्ने उल्लेख छ ।

 

९२ जनाको नाम उल्लेख

 

परिपुरक मुचुल्कामा ९२ जनाको नाम समावेश छ । सहभागीहरु याङरुप, पान्थर, चारखोला, फेदाप, छथर सुदाप, मिक्लुक र आठराईको सुब्बा र सर्वसाधारणको नाम उल्लेख छ । जसमा १९८८ बैसाक २४ गते उपस्थित केही व्यक्ति समेत छन् । दोहरिनेमा कृपालाल राई, लालिखर्क पाँचथर, सुब्बा सेरबहादुर लिम्बू’ लगायतका रहेका छन् ।

 

१९८८ मंसिर २४ को परिपुरक मुचुल्कामा सात जना राई समुदायबाट प्रतिनिधित्व रहेको छ । सहभागीहरुमा निम्न अनुसार रहेका छन् ः पान्थर नावाखोलाको रवि पटी कुरुम्बा बस्ने बजिरमान राई साधु १, ऐ.ऐ. बस्ने चन्द्रधोज राई साधु १, ऐ.ऐ. बस्ने मचिन्दास साधु १, ऐ. हाङगुम बस्ने सिद्धिदल राई १, ऐ सिक्तेम्बा साधु रामचरन देशी राई १, थुम मिक्लुक पहाडको यांसिदे बस्ने साधु देवनन्ददील साधु १, कृपालाल किरावा राई लालीखर्क १
(तुम्बापो र फेजङ, ४३०)

 

 

¬यो मुचुल्कामा ‘याक्थुङ’ जाति भन्ने शब्द परेका छ । साथै केही सहभागीको थर उल्लेख छ । थर उल्लेख भएकोमा आठराई थुमबाट सहभागी ५ जनाको थर ‘आङभाङ’ उल्लेख छ । यसैगरी सुबा सेरबहादुरको थरमा ‘लौती’ उल्लेख छ । यसैगरी ९ जना सहभागीको थर तुम्बापो, २ जनाको नेम्बाङ, ३ जनाले आङदेम्बे, ४ जनाले तुम्बाङफे उल्लेख गराएका छन् । यसैक्रममा छथरका हामरजुङ बस्ने ज्ञानबहादुर साँवा, चारखोला खान्द्रुङका भगिमान येक्तेनले थर उल्लेख गराएका छन् । यो परिपुरक मुचुल्कामा याङरुप थुमका जीतवहादुर थुपोको नाम सिरानमा उल्लेख छ । सम्भवत यो पटकको मुचुल्का लेखन उनले गरेको हुनु पर्छ ।

 

 

यी माथिका थरहरुको हेर्दा ‘आङभाङ’ अपभ्रंस भएर ‘आङबुहाङ’, ‘लौती’ अपभं्रस भएर ‘लाओती’ भएको देखिन्छ । यसैगरी ‘तुम्बाङफे’ अपभ्रंस भएर ‘तुम्बाहाङफे’ भएको देखिन्छ ।

 

महागुरुले गराउन भएको थियो थुप्रै मुचुल्का

 

महागुरु फाल्गुनन्दको पहलमा उठाइएको ‘सत्यधर्म मुचुल्का’का चर्चित छ । यसै मुचुल्का निर्माण गरी समाज सुधारको प्रयास गरेकाले वहाँलाई राज्यले समाज सुधारकको रुपमा राष्ट्रिय विभूतिको सम्मान गरेको छ । महागुरु फाल्गुनन्द पल्टने जीवन पश्चात पान्थरको लब्रे र सिलौटीमा विताउन भयो । त्यहाँ वहाँले धेरै मुचुल्काहरु गराउनु भएको छ ।

 

 

रमेश तुम्बपो र मनकुमार फेजङले ‘निस्सेहाङमा महागुरु फल्गुनन्दको जीवनी’ मा महागुरु फाल्गुनन्दको जीवनमा बनाएको थुप्रै मुचुल्काहरु संकलन गएिको छ । ती मध्ये ‘नाम्भुनयक सिलौटी माङहिमको भूमिदान मुचुल्का’ (४३६), ‘थिति बन्देजको मुचुल्का’, ‘गौशाला सम्बन्धी थिति बन्देजको मुचुल्का’, ‘क्षेत्रगत कार्य विभाजनको मुचुल्का’ (५२४) आदि मुख्य छन् ।

 

 

‘नाम्भुनयक सिलौटी माङहिमको भूमिदान मुचुल्का’ वि.सं. १९९५ साल श्रावण २३ मा उठाइएको थियो । सो मुचुल्कामा सिलौटी माङहिमलाई १० जना भूमिदाताहरुले जग्गा चढाएको व्यहोरा उल्लेख छ । उक्त मुचुल्का ‘शुद्ध किपट जग्गा’ ‘तपस्वी गुरु फल्गुनन्द महात्मा लिङ्देनलाई’ दिएको उल्लेख छ । सो जग्गा ‘हाम्रो ज्यू र छोरा नाति दर सन्तानतक् खोसमास नगर्ने’ भनिएको छ (तुम्बापो र नेम्बाङ, ४३८) ।

 

 

वि.सं. २००४ साल अश्विन ५ मा ‘साङसेनधामको पुजारी नियुक्तिको मुचुलका’ उठाइएको थियो । सो मुचुल्कामा मौजा माक्लुम्बा बस्ने चन्द्रबहादुर लिम्बूलाई वि.सं. २००४ अश्विन ५ गते १ बार देखि चन्द्र, सुर्जे पृथ्वी रहुञ्जेल पुजारी नियुक्ति गरिएको छ । सो मुचुल्कामा १० लिम्बू भक्तजनहरुले उठाएको भेटी समेत हस्तान्तरण गरिएको उल्लेख छ ।

 

‘क्षेत्रगत कार्य विभाजनको मुचुल्का’ मा महागुरुका पालामा बनेका विभिन्न माङहिमहरुलाई संरक्षण र व्यवस्थापन गर्न कार्य विभाजन गरिएको छ । सो मुचुल्कामा काबेली मन्दिर, सिलौटी मन्दिर, फालेलुङ धरते गौशाला, सिक्रे गौशाला पान्थर र याङरुप थुमको जिम्मा परेको थियो । चारखोला चुक्चिनाम्बा मन्दिर, जीतपुर सानोटारको मन्दिर चारखोलाले थाम्नु भन्ने लेखिएको छ । यसैगरी आठराई निगुरादेनको मन्दिर, कुम्भकर्ण धर्मशाला, हिमालय चौरी गौशाला आठराई र फेदाप थुपले थाम्नु भनी मुचुल्का उठाइएको छ (२२६) ।

 

 

यी मुचुल्काहरु हेर्दा महागुरुको पालामा भूमि चढाइको, सेवासावा नियुक्ति गरिएको, काम बाँडफाँड आदिमा मुचुल्का उठाएको देखिन्छ ।

 

टुग्याउनी

 

महागुरुले आफ्नो चेलाहरुको मागलाई सम्बोधन गर्ने क्रममा १९८८ मंसिरमा एक परिपुरक मुचुल्का निर्माण गरिएको थियो । जसले १९८८ बैसाक २४ मा गरेको निर्णयहरुलाई समर्थन गर्दै चार बुँदामा थप सुधार गरेको थियो । महागुरु फाल्गुनन्दका पालामा उठाइएका मुचुल्का धेरैजसो मुचुल्काहरु कुनै चुम्लुङ वा भेलाको निर्णयहरुको लिखतको रुपमा रहेका छन् । कतिपय मुचुल्काहरु घरायसी कागज गरेको जस्तो शैलीको पनि देखिन्छ । वहाँले हरेका निर्णयहरुको दस्तावेज राख्ने प्रयास गर्नुभएको देखिन्छ ।

 

 

सन्दर्भ सामग्री

तुम्बापो, रमेश र फेजङ, मन कुमार (२०७९) । निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी । दमक ः रमेश तुम्बापो र मन कुमार फेजङ ।