आत्मानन्द गोल्डकप : प्रतियोगितामा सहभागि क्लबहरु सार्वजनिक


माङसेबुङ/किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द गोल्ड कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा सञ्चालन हुने भएको छ ।

 

 

सो कुरा आत्मानन्द गोल्डकप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले शनिबार एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आङबुहाङले जानकारी दिएका छन् ।

 

 

सहभागी टिमहरुमा नेपालबाट दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा, दुधे युथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पान्थर, माङसेबुङ गाउँपालिका र युथ अफ माङसेबुङ इलाम रहेका छन् । यसैगरी भारतबाट कञ्चनजंघा फुटबल क्लब सिलगुडी रहेको छ ।

 

 

प्रतियोगितका विजेताले नगद रू ३ लाख ११ हजार एक सय ७२ र उपविजेताले रू।२ लाख ११ हजार एक सय ७२ का साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवर्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही रू।८१७२ का साथ नगर र ट्रफी प्रदान गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । यसैगरी उदयमान खेलाडी, उत्कृष्ट कोचले जनही रू ८१७२ का साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै खेलका म्यान अफ् द म्याचले रू ५१७२ प्राप्त गर्नेछन् ।

 

किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा फुटबलको साथै म्याराथन, छेलोे हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाई लगायतका खेलहरुसमेत आयोजना हुने आयोजकले जनाएको छ । खेलको आयोजना किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह खेलकुद विभाग संयोजक आत्मा पवित्र खेलकुद समितिले संयोजन गर्ने छ ।

 

 

 

आत्मानन्द कप प्रदेश नं १ मा आयोजना गरिने एक प्रतिष्ठित फुटबल प्रतियोगिता रहेको छ । यो सालको आत्मानन्द कप १८ औं संस्करण रहेको छ । गत सालको आत्मानन्द कप दुधे युथ क्लब झापाले जितेको थियो ।