सबैको चोत्लुङ उठोस्


(वि.स. २०८१ साल मंसिर १९ गते इलामको माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूको नुमाङगेन्ना सेवा महासमारोह कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।)

 

 

ओत् तागेरा निङवाभूमाङे सेवारो ।
विभिन्न ठाउँबाट पाल्नु भएका भक्तजन, पत्रकार र राज्यबाट सुरक्षामा खटिनु भएका प्रशासनहरु सबैमा आशीर्वाद छ । आज बडो रमाइलो साथ यो कार्यक्रम सम्पन्न हुन लागिराखेको छ । यो पवित्र र महत्ववपूर्ण भूमिमा भेला भएका छौं । सधैं पनि हामी भेला हुनेका गरेका छौं । यो भूमि भनेको तपाईंहरुको शिर (चोत्लुङ) हो । यहाँ राज्यका प्रमुख, मन्त्रीहरु, नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षज्यूहरु भेला हुनुभएको छ । हाम्रो मुन्धुमीभाषा अनुसार तुत्तुगेन तुम्याहाङ चोत्लुङ, याक्लागेन सुहाङमा चोत्लुङ, नालिगेन थाङबेन चोत्लुङ, सिसागेन मेन्छिन चोत्लुङ भन्छौं । यसरी हामी यो चोत्लुङमा सबै भेला भएका छौं ।

 

 

यहाँ भेला भएर हामी आफ्नो दुःख सुखका कुराकानी गर्छौ । देशको विषयमा कुराकानी गर्छौं । धर्म कर्मको कुराकानी पनि गर्छौं । तपाईंहरु यसरी आइदिनु भएकोमा मलाई ज्याँदै खुशी लागेको छ । यो ठाउँमा तपाईंहरुले जे सोचेर आउनु भएको छ त्यो कुरा उनै तागेरा निङ्वाभूमाङ्ले तपाईंहरुको मनोकांक्षा र मनोकामना पूरा गरिदिओस् ।

 

 

 

तपाईंहरुको आफ्नो हरेक समस्याहरु समाधान गर्न माङबाट तपाईंहरुले सिद्धि शक्ति पाउँनु हुन्छ । तपाईंहरुको मनोकामना, इच्छा आकांक्षा पूरा हुन्छ । हामी सबैले आफ्नो धर्म, भाषा, संस्कार संस्कृतिहरुलाई उन्नती प्रगति गराउँदै लैजानुपर्छ । हामीमा भएका विभिन्न रोग ब्यथहरु, दिनदशा, ग्रहदशाहरु प्नि शान्ति भएर जान्छ । हामीले यो बल मागेका छौं । मैले संधैं भन्ने गरेको छु—यो माङगेन्ना चोत्लुङ भनेको तपाईं हामी सबैको लागि हो । मेरो एउटा नाम मात्रै हो । यसको उपलब्धि तपाईंहरुको हो । यहाँ सबै ठाउँ र मुलुकबाट पाल्नु भएको छन् । राष्ट्र अन्तर्राष्ट्रिय जगतमा पनि सबैले नुमाङगेन्ना मनाइराखेका छौं । तपाईंहरु सबैको शिर उठेको छ । तपाईंहरुले शक्ति पाउनुभएको छ । संसारमा विभिन्न समस्याहरु आउँछ । हामीलाई डर लागेको चाहिँ के भन्दा विश्व युद्ध पो हुन्छ कि भन्ने छ । विश्व युद्ध नहोस् भनेर हामीले शान्तिको निमित्त ईश्वरसँग प्रार्थना गर्नुपर्छ । हाम्रो मुलुक त सानो राष्ट्र हो । हामी सबैले बाँच्न पाउँनुपर्छ ।

 

 

 

मसँग यहाँ आएर आशीर्वाद माग्नेहरु सबैले पाइराखेका छन् । म मन्त्री हुन पाउँ गुरु भनेर आउँछन् मन्त्री भइराखेको छन् । सबैभन्दा पहिला यहाँ मन्त्री माग्न आउने चाहिँ गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । मैले हेरें माया लाग्यो । राजनीति गर्दागर्दै बुढो भयो, तपाईंको स्वास रहुन्जेल तपाईंले प्रधानमन्त्री खाइरहनु, पाइरहनु भनेर आशीर्वाद दिए । तर, आशीर्वाद पाउँदाखेरी चाहिँ राम्रो जान्नुपर्छ, बुझ्नुपर्छ ।

 

 

 

जानिएन र बुझिएन भने उहिले देवताहरुको पालामा भस्मासुरको कथा छ, त्यस्तै मात्र हुन्छ । त्यसले गर्दा आशीर्वाद पाएर जानेहरुले पनि अलि बुझ्नु होला भन्ने मेरो अनुरोध छ । किनभने, म एउटा कथा सुनाउँछु –भस्मासुरले वरदान माग्यो बरदान माग्दाखेरि महादेवसँग माग्यो । महादेवले बरदान दियो । म जसको शिरमा हात राख्छु त्यो समाप्त होस् । त्यो भस्म हुने शक्ति माग्यो । अनि अन्त्यमा हेर्दै जाँदाजाँदा कैलाशमा पार्वती चाहिँ राम्रो देख्यो । राम्रो देखेपछि अब त्यहीँ महादेवको शिरमा हात राखेर भस्म पारेर पार्वतीलाई लान्छु भन्ने कुरा उसको मन, आत्मामा आयो । त्यो नराम्रो आत्मा आयो ।

 

 

 

देवताहरुको पालामा पानी पार्ने जिम्मेवारी महादेवको थियो । तर, भस्मासुरले पछ्याएर भाग्दा–भाग्दा महादेवले संसारमा पानी पराउने उसको जिम्मेवारी तर पानी पर्दैन । पृथ्वीमा आगो उठ्न थाल्यो । जहाँ धुवाँधूलो मात्रै उड्न थालिसक्यो । महादेव कता गयो भनेर विष्णुले आँखा लगाएर हेर्दाखेरी त कुदेको कुदेकै रहेछ । अनि विष्णुले भस्मासुरलाई दर्शन दियो अरे । के गरेको भन्दा, होइनन् मैले बरदान यो पाएको छु । यसलाई भस्म गरेर उसको श्रीमती लैजाउ भनेको भने । विष्णुले भस्मासुरलाई होइन त्यो त परिक्षण गर्नुपर्छ भनेछ । आफ्नो हात आफैंले शिरमा राख्नुपर्छ । अनि परिक्षण हुन्छ । अनि मात्रै प्रयोग हुन्छ त भनेपछि । उसको हात आफ्नै शिरमा राखेपछि उ आफैं भस्म भयो । त्यहाँदेखि त्यसको नाम भस्मासुर भन्छ ।

 

 

 

त्यसकारणले माङबाट पाइन्छ । नपाइने कुरा हुँदैन । तर, भस्मासुरको इतिहास दो¥याउन हुँदैन । मैले सबैलाई समान आशीर्वाद दिने गरेको छु । यहाँ सबै पार्टी, सबै जातिहरु छन् । सबै पार्टी मेरो मित्रता हो । मैले भन्नु केहीँ छैन् । मैले आशीर्वाद दिएर पार्टीहरु जन्मेका हुन् । ती सबै नेपाल आमाका बच्चाहरु हुन् । मेरो सबै जाति, सबै पार्टीहरुलाई समान आशीर्वाद रहन्छ । त्यस्तै हाम्रो भक्तजनहरूमा पनि कसै गाउँपालिका अध्यक्ष, कसै विभिन्न संघ संस्थाहरुको अध्यक्षहरु भइराखेका छन् । सबै माङकै आशीर्वादले भइराखेका छन् ।

 

 

 

अब म एउटा आफ्नै कथा सुनाउँछु । महागुरुको जीवनी भन्नुपर्दा महागुरु फाल्गुनन्द लिङ्देनज्यूले नेपालको पूर्वी भाग इलामको चुक्चिनाम्बा डाँडागाउँमा जन्म लिनु भएको हो । वहाँको बाल्यकालको नाम फलामसिं थियो । किनभने वहाँको दाजुभाइमा धेरै भाइ जन्मियो धेरै भाइ मर्र्यो । त्यसपछि यो नमरोस्, फलाम जस्तै दह्रो होस् भनेर फलामसिं भनेर नाम राखिदिएको थियो । महागुरुको दाजु माइला पनि पल्टने जीवन भएर पल्टन जानु भएको थियो । रहँदा बस्दा पछि महागुरुलाई पनि उसको दाजु माइलाले उतै पल्टन तिर ताने । र, त्यसै बेला विश्व युद्ध भयो । विश्व युद्ध हुँदा महागुरु हवल्दार भइसक्नु भएको थियो । त्यो बेला महागुरुले उसको जवानहरुलाई भन्यो–हेर जवानहरु हो, सरकारको हुकुम मान्नुपर्छ । नुनको सोझो हुनैपर्छ । तर, हामीले जापान, जर्मनको त केहीँ खाइदिएका छैनौं । त्यसैले तपाईंहरुले फायरिङ गर्दा चाहिँ कि जमिनमा हान्नु कि आकाशतिर हान्नु भनेर निर्देशन दियो ।

 

 

यसरी वहाँको ग्रुपहरु अगाडि बढ्यो । युद्धमा अगाडि बढ्दा त्यहाँ युमा साम्माङले एउटा शक्ति दिएको छ । त्यो शक्ति कस्तो दियो भने त्यहाँ वहाँको टिमबाट जाने फौजीहरु सबैले देखेका छन् । दुश्मनबाट आएको बम बारुद्ध, गोलीहरु सबै एउटा बुढी मान्छेको थुन्चेमा पसेको देखेका छन् । बुढी मान्छे चाहिँ उनीहरुको अगाडि हिंडिराखेको त्यो बम बारुद्ध गोली आएको सबै उसको थुन्चेमा जम्मा गरेको उनीहरुले दृश्य देख्छन् । यसरी वहाँको टिम चाहिँ गोली बारुद्धबाट कसैपनि घाइते नभई सकुशल क्याम्पमा फर्किन्छन् । सत्य भन्ने कुरा त्यस्तो हुन्छ ।

 

 

 

भोलि गएर संसार करिब अन्त्य अन्त्यतिर जाँदैछ । तपाईंहरुले सुन्नुहोस् । तपाईंहरुले राम्रो सोची राख्नुहोस् । संसार भनेको विश्व युद्धको नजिक नजिक पुगिसकेको छ । विश्व युद्ध भयो भने भोलि हामीलाई पनि बम, बारुद्ध लाग्न सक्छ । हामीलाई अनेक विषहरु लाग्न सक्छ । त्यसकारणले विश्व शान्ति मानन एकतामा हामी एक भएर लागौं । यसरी एकता बनेर लाग्यौं भने केहीँ हदसम्म शान्ति गर्न सकिन्छ । मैले पहिले भविष्यवाणीमा भनेको छु, संसारमा एउटा अचम्मको परिवर्तन आउँछ । तर, म त्यो पनि मिलाएर मात्र जान्छु कि भन्ने मलाई आशा लागिराखेको छ ।

 

 

 

त्यसैले मैले तपाईंहरुलाई बचाउन खोजिराखेको छु । हामी अब युद्धको संघार–संघारमा पुगिराखेका छौंं । जन नेता जनताको सेवा गर्ने राजनीतिकर्मीहरुलाई पनि म के अनुरोध गर्न चाहन्छु भने हामी सबैले संयमता अपनाऔं । शान्तिअंपनाऔं । राज्यलाई पनि शान्ति राख्ने । जनतालाई पनि राख्ने काम गरौं । हुन त राजनीति भनेको गड्याङ गुडुङ हुन्छ । नारा जुलुस हुन्छ । दुनियाँ हुन्छ । तर, त्यसलाई शान्ति गराउने पट्टी जानुपर्छ भन्छु है । त्यसले गर्दा हामी सबै भक्तजनहरू विश्व शान्ति कसरी गर्न सकिन्छ ? यसमा लाग्नुपर्ने समय आइसक्यो ।

 

 

 

हामी दुई देश ठूला–ठूला राष्ट्रकाबीचमा छौं । त्यसले गर्दा हामी कसरी बाँच्ने हो सोच्नुपर्ने समय आएको छ । हाम्रो विश्व शान्ति मानव एकताको नारालाई हामीले कसरी सार्थक बनाउने, विश्वव्यापी कसरी लाने भन्ने कुरामा तपाईंहरुले चिन्तन गर्नुहोस् । म यो कुरा तपाईंहरुसँग हार्दिक अनुरोध गर्न चाहन्छु । अब विश्व युद्धको नमूना शुरु भइसकेको छ । भोलि युद्ध भइ गयो भने अवस्था कस्तो रहन्छ भन्नुहुन्छ भने रेल कुद्दैन । हवाइजहाज उड्दैन । हेलिकप्टर उड्दैन । पानीजहाज चल्दैन । अमेरिका जानेहरु अमेरिकामै रहन्छौं । नेपालमा बस्नेहरु नेपालमै रहन्छौं । भूटानको भूटानमै थुनिन्छौं । त्यस्तो अप्ठयारो स्थिति आउँछ ।

 

 

 

यसमा अप्ठेरो लागेको कुरा चाहिँ विषादी मिसिएको बमहरु छोड्यो भने हामी त निद्रामै मरिसक्छौं । त्यस्तो बम छोड्ने ज्ञान बुद्धि चाहिँ शक्तिशाली मुलुकका नेताहरुमा नआओस् । विश्व शान्ति मानव एकता कायम गर्दै संसारका मानवहरुलाई कसरी जोगाउने भन्ने कुरामा विद्धान नेताहरुमा ज्ञान आओस् । तपाईंहरुलाई मैले सधैं भन्ने गरेको छु । हामी सुत्दा, उठ्दा, हिड्दा बस्दा सधैं माङ (इश्वर) लाई सम्झिन्नु । तपाईंहरुलाई माङले रक्षा गर्छ ।

 

 

 

हामीले जे जे खाएपिए पनि समय मिलाएर लिमिटले मात्र खाने गरौंं । माछा, मासु मंस हामी नखानेले त खाँदैनौं । खानेले पनि जहाँ भेट्यो त्यहीँ, जहिले भेट्यो त्यति बेला खाने होइन् । त्यो मासु मंसमा पनि विषादी छ । राँगाको मासु खानेहरुको लागि त्यो राँगालाई नाम्लेको औषधी दिनैपर्छ । त्यहीँ विषादी छ । त्यसले पनि हाम्रो शरीरलाई असर गरिराखेको छ । साँगसब्जीमा पनि विषादी नहाली हुँदैन । यसले पनि हामीलाई असर गरिरहेको छ । यसको असरले हाम्रो आयु छोटिन्दै गइरहेको छ । अहिले विभिन्न किसिमका रोगहरुको उत्पति भइरहेको छ । यसले गर्दा हाम्रो शरीर र विचारलाई पवित्र राख्नका लागि स्वच्छ र पवित्र बनौं ।

 

 

 

विश्व शान्ति मानव एकताको धर्ममा लागौं । सबैले यो धर्मलाई अंगालेर जाऔं भन्ने म अनुरोध गर्न चाहन्छु । हामी गाउँघरमा झगडा गर्ने, कसै बुढी कुटी मार्ने, कसै बुढा कुटेर मार्ने यस्तो पाप, क्रोध, अहंकारलाई हामीले पर सारौं । यो नै महत्वपूर्ण कुरा हो । हाम्रो समाजमा विभिन्न किसिमको विचार बोक्नेहरु छौं । विभिन्न विचारका मान्छेहरु छौं । विचारहरु धेरै खालको हुन्छन् । तर, स्वच्छ विचारले मात्र अगाडि बढौं । यो कुरा तपाईंहरुसँग म निवेदन गर्न चाहन्छु । तपाईंहरुले यो कार्यक्रम अहिले संसारभरबाट हेरिरहनु भएको छ । अहंकार, क्रोंध, घमण्डले विश्वनै यहाँ समाप्त हुने स्थितिमा पुगेको छ । यसरी कोही पैसाको घमण्ड गर्ने, कोही शक्तिको घमण्ड गर्ने यसरी घमण्ड गर्नाले विश्वनै समाप्त हुने स्थिती आइसकेको छ । यसले गर्दा हामीले विश्व शान्ति मानव एकताको नारा अगाडि बढाएका छौं । हामीले विश्व शान्तिलाई अगाडि बढाएर जाने । हामी यसरी जाउँ भन्ने तपाईंहरुलाई म निवेदन गर्न चाहन्छु ।

 

 

 

 

यस कार्यक्रममा तपाईंहरु सहभागि हुनुभयो । यहाँ संसारभरबाट आउनु भएको छ । त्यसले गर्दा मैले पनि भन्नैपर्छ हामी एकता बनौं । विश्व शान्ति मानव एकता बनेर जाउँ । विश्व शान्ति कसरी हुन्छ भन्ने विषयमा अध्ययन गरेर जाउँ । यो दर्शनमा हामी बढ्यौ भने हामीले पृथ्वीलाई जोगाउन सक्छौं । पृथ्वी जोगियो भने हामी जोगिन्छौं । हामी जोगियौं भने पृथ्वीमा भएका मान्छेहरुले राज्य गर्छन् । सबैथोक गर्न सक्छन् । उनीहरूले अमनचयन गर्ने मौका पाउँछन् । तर, पृथ्वी जोगिएन, हामी जोगिएनौं भने त्यो सम्भव रहँदैन ।

 

 

 

 

यसले गर्दा तपाईंहरुलाई म यहीँ कुरा सुनाउन चाहन्छु । हुन त मेरो लागि मान्छेहरुले विभिन्न विरोध गर्छन् । के–के भन्छन्, अनेक गर्छन् तर, म त्यो पट्टि छैन् । म कसैलाई विरोध पनि गर्दिनन् । भोलि तिनीहरु आउने बाटो यहीँ हो । यहीँ आउनु पर्छ । कहिं जानु पर्दैन । त्यसले गर्दा किरात धर्मले यो नीति, दर्शन बोकेको छ । तपाईंहरु यसमा समावेश भएर जानुहोस् । यसमा ज्ञान खोज्नुहोस् । ज्ञानको भण्डार छ । यो ज्ञानको भण्डार पत्ता लगाएर काम गर्ने समय आयो यहीँ कुरा तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु ।

 

 

 

पृथ्वीमा मान्छेहरु धेरैं भएपछि लडाइँनै लडाइँ हुने देखेर मंगल ग्रहमा गएर बस्ने, चन्द्रमामा गएर बस्ने विकसित मुलुकका मान्छेहरुले कल्पना गरिसकेका छन् । मान्छे उडाएर त्यहाँ लगेर राख्ने सुर गरिसकेका छन् । तर, के हुन्छ भने, पृथ्वी जस्तो त अलि हुँदैनन् । त्यसले गर्दा हामीले पृथ्वीमै सुधार ल्याउनुपर्छ भन्ने तपाईंहरुलाई म अनुरोध गर्न चाहन्छु । तपाईंहरु यसो आएर यो थलोमा नाच्नु भयो, गाउनु भयो, हिँड्नु भयो । माङ्वाहाङ्वा माग्नुभयो । त्यो सिद्धि शक्ति तपाईंहरुले पाउनु भएको छ ।

 

 

 

मैले अघि भनेको छु–तुत्तुगेन तुम्याहाङ चोत्लुङ, नालिगेन थाङ्बेन चोत्लुङ, सिसागेन् मेन्छिन चोत्लुङ । यहाँ हिजो तुम्याहाङहरु आएर गए । उनीहरुको चोत्लुङ (शिर) उठ्यो । जे भएपनि सबैको शिर उठ्यो । उनीहरुले मागेको, सोचेको कुराहरु प्राप्त हुन्छ । सिद्धि मिल्छ । शक्ति मिल्छ तपाईंहरुलाई यहीँ कुरा अनुरोध गर्न चाहन्छु । तपाईंहरुको शरीरलाई पवित्र राख्नुहोस् । तपाईंहरुले खाने पिउने कुराहरुमा एकदम लिमिट राख्नुहोस् । यहीँ कुरा तपाईंहरुलाई म अनुरोध गर्न चाहन्छु ।

 

 

 

कार्यक्रममा हाम्रो रक्षामन्त्री पाल्नुभयो । अब, हाम्रो गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, विभिन्न पालिकाका अध्यक्षज्यूहरु पनि आउनुभएको थियो । मलार्इँ धेरै खुशी लाग्यो । हाम्रो राज्य, मुलुकले जनताहरुलाई सुविधा दिलाउनु पर्छ । र, राज्यले जनतालाई ज्ञान र शिक्षा दिनुपर्छ । अब हरेक कुरामा ज्ञान र शिक्षाको आवश्यकता पर्छ । हामीले खाने पिउनमा पनि अलिकति विवेक राख्नुप¥यो । मुख्य कुरा त म आफ्नै जातिहरुलाई सम्झाउने गरेको छु, हाम्रो लिम्बू याक्थुङहाङ जातिहरु यति जम्मा भयौं भने जाँड, रक्सी खाँदै लाक्पा परेर यहाँ धूलै–धूलो उठ्थ्यो क्या…। तर, तपाईंहरु भेला हुनु भयो । अहिले तपाईंहरु एकदम शान्त रुपले बस्नु भएको छ । शान्ति जग्गा कस्तो रहेछ । शान्ति भनेको कस्तो रहेछ भन्ने कुरा तपाईंहरुले कमसेकम अनुभव त गर्नुभएको छ । यहीँ अनुभव गर्नुभयो भन्ने मैंले सम्झेको छु । यसले गर्दा अब हामीले शान्तिको बाटोलाई पछ्याउनु पर्छ ।

 

 

 

 

हाम्रो जात त कस्तो हो भने बिहे हुँदा पनि बाँझ्नै पर्ने नबाझी हुँदैन । केहीँ जमात भेला भयो कि बाँझ्नै पर्ने, लडाइँ झगडा त हाम्रो परम्परा जस्तै भएको छ । यसलाई अलिकति हामीले समाधान गरेर लगेका छौं । हामीले अब यसलाई विस्तारै सच्याएर, सुधारेर लानुपर्छ । तपाईंहरु यहाँ आएर आनन्दसँग बस्नु भएको छ । तपाईंहरु यहाँ विभिन्न पार्टीका हुनुहुन्छ । नेताको कुरा र राजनीतिक कुराहरु गर्ने हो भने विभिन्न खालका राजनीतिक दर्शनहरु बोकेर बस्नु भएको छ । तर, यो शान्ति ठाउँमा कमसेकम तपाईंहरुले एकछिन भएपनि शान्ति त भोग्नु भयो नी । जे भए पनि यसरी शान्तिमा लाग्नुपर्छ । शान्तिको बाटोमा सबै हामी लाग्नुपर्छ यहीँ कुरा तपाईंहरुलाई म अनुरोध गर्न चाहन्छु ।

 

 

 

 

मैले तपाईंहरुलाई भन्नु पर्ने कुरा लामो छ । महागुरुज्यूले वि. स. १९८८ सालमा सत्र थुमहरुलाई पान्थरको लब्रेकुटीमा भेला ग¥र्यो । यति बेला कांग्रेस, कम्यूनिष्ट त थिएन नै । त्यति बेला समाजवाद भन्ने पनि थिएन । के वाद भन्ने पनि थिएन । तर, महागुरुले त्यति बेला नै समाज सुधार भनेर एउटा नीति ल्याउनु भयो । समाज सुधारमा के ल्याउनु भयो त भन्दा हामीले जिव हत्या नगर्ने भन्ने नीति आयो । छोरीचेलीहरुको सोतरीत नखाने भन्ने नीति ल्याउनु भयो । यो आएर अहिले महिला अधिकार आएको छ । त्यहीँ विकास भएर महिला अधिकार भयो । त्यहीँ विकास भएर अहिले समाजवाद भइराखेको छ । तपाईंहरुले यसरी कुरा बुझ्नुहोस् ।

 

 

 

 

यसरी हामीले छोरी चेलीलाई पढाउन थाल्यौंं । छोरीचेलीहरुलाई पढाउँदा खेरी अहिले संसारमा राष्ट्रपति भए, प्रधानमन्त्री भइराखेका छन् । त्यस्तो बाटो खोलिन्छ । महागुरुले हिजोनै बाटो खोलिराखेको थियो । नभए त छोरी मान्छे त जाँतो गर्ने, चुला गर्ने त्यहाँबाट बाहिर निस्कन नदिने त्यति बेलाको कानुन थियो । समाज सुधारका लागि त्यो नियमहरु बनाउँदा पनि त्यो बेलाको सरकारले लगेर थुन्थ्यो । तर पनि महागुरुले ८८ सालमा त्यो एउटा मुचुल्का बनाइराख्नु भएको छ । हामी त्यसलाई सत्य धर्म मुचुल्का भन्छौं ।

 

 

 

 

सत्यको बाटोमा हिँड्ने भनेर बनाएको मुचुल्काको आड लिएर हामी हिँडिराखेका छौं । बोलिराखेका छौं यहीँ कुरा तपाईंहरुलाई जानकारी दिन चाहन्छु । हामीमा के छ भने, हाम्रो याक्थुङ्बाहरुमा चाहिँ युमासाम, थेबासाम, हाङसाम थेबा थेप्मा गर्ने चलन छ । हामी पनि गर्छौं । युमासाम, थेबासाम थेप्मा हामी पनि गर्छौं । तर, हामीफूल (फूलफलेदो) बाट गर्छौं । हामी भोग लाउँदैनौं । भोगबाट लगाउने पनि छन् । राँगा काट्नु पर्छ । तुङदुङगे साम्माङ गर्दा बोका काट्नुपर्छ । यो लिम्बूहरुको देवता पनि धेरै खाले छन् । एउटा तुङ्दुङगे साम्माङ छ । एउटा मेयड साम्माङ छ । एउटा चाहिँ मया साम्माङ छ । साम्माङहरु अनेकौं छन् । हाम्रो राई दाजु भाईहरुमा त असेक साम्माङ छ । थाननै दिएर मान्छन् । यसरी हामी किरातहरुको देवताहरू चाहिँ विभिन्न किसिमको हुन्छन् । हामीले पुज्ने सबै साम्माङहरुको मुन्धुम पनि छ । हामीले यसलाई संरक्षण गरेर आएका छौं ।

 

 

 

 

तपाईंहरुलाई पढाइने, सिकाउने काममा हामीहरु लागेका छौं । यसले गर्दा तपाईंहरुको भविष्य उज्यालो होस् । प्रगति होस भन्ने कुरा हामीले सोचेका छौं । यो संघ संस्थाहरु र मलाई साह्रै खुशी लाग्यो । तपाईंहरुले विभिन्न क्षेत्रबाट भाग लिनुभयो । भक्तजनको संख्या वर्षेनी बढ्दै जानुहुन्छ । यसले गर्दा हामीलाई पनि गौरव लाग्छ । यसरी बढेको राम्रो कुरा हो । तपाईंहरुले सिद्धि पाउँनु हुन्छ । शक्ति पाउँनु हुन्छ । माङ्वाहाङवा पाउनु हुन्छ । माङ्वाहाङ्वा भनेको सह हो । पैसाको सह, अन्नको सह, धनको सह, चाँदी पैसाको सह हो । यसरी तपाईंहरुले माङ्वाहाङवा पाउनु भएको छ । तपाईंहरुले सोचेको कुरा प्रगतिमा छ । यहाँ माङवाहाङ्वा थापेर लानेहरु एक दुई मुठ्ठी यसो खान त टुटेको छैन् । यसरी माङ्वाहाङ्वा पाइरहनु भएको छ । यसमा मलाई खुशी लागेको छ । तपाईंहरु फेरि जम्मा हुनुहोस् ।

 

 

 

 

अब उभौंलीको समयमा हामी फेरि भेटौं । उभौलीको समयमा सेवा लगाउँ । शक्ति मागौं । हाम्रो शक्तिलाई अगाडि बढाउँदै विश्व शान्ति मानव एकताको नारालाई आत्मसात गर्दै लैजाउँ । हामी हामीबीच झै–झगडा नगरौं । तर, पनि झगडा गर्नुपर्ने समय पनि कहिलेकाहीँ आउँदो रहेछ । तपार्इंहरुले झगडा नगर्ने, शान्त वातावरणमा जाने यस्तो राम्रो कुराहरु गरौं भन्दाभन्दै पनि कहिले नराम्रो पनि आइलाग्छ । त्यसलाई परास्त गर्दै लानुपर्छ । यसका लागि हामी एकता बनौं । एउटा शक्ति बनेर जाउँ । अनि विकास हुन्छ । सबै कुरा पूरा हुन्छ ।

 

 

 

हाम्रो मुन्धुमले के भन्छ भने–माङ लुङ्धुङ, हाङ लुङ्धुङ हेक्याङ आगेत् । माङ चोत्लुङ, हाङ चोत्लुङ आगेत् भन्छ है हाम्रो मुन्धुमले । त्यसले गर्दा त्यो चोत्लुङमा पुग्ने काम चाहिँ सबैले गरौं । म यहीँ तपार्इंहरुलाई शुभकामना दिन चाहन्छु । तपार्इंहरुलाई यहीँ आशीर्वाद दिन चाहन्छु । आज म अघि देखिनै अलि कसिएको तर समयले साथ दिएको छैन् । आजको समय गइसकेको हुनाले तपाईंहरु पनि टाढा–टाढाबाट आउनु भएको छ । तपाईंहरु अमेरिका, अष्ट्रेलिया, युके, हङकङ, भुटान, इन्डियालगायत मुलुकबाट आउनु भयो ।

 

 

 

अब नेपाल त नेपाल भइगयो । तपाईंहरुले बहुत खर्च गरेर आउनु भएको छ । बहुत खर्चालु छ हैं । त्यहाँ आउन होइन ? तर, जे भएपनि अहिले बाटो सामान्य राम्रो छ । तपाईंहरु आउनु भयो । तपाईंहरुले सुन्नुभयो, बस्नुभयो । मैले एक–दुई वटा कुरा त भनें । हामीले मन्त्रहरु सिकौं, धर्म दर्शनका ज्ञानहरु सिकौं । यो धर्मको लक्ष्य उद्देश्यहरु सिकौं । म तपाईंलाई यहीँ कुरा निवेदन गर्न चाहन्छु ।

 

 

मलाई खुशी लागेको छ । यहाँ आएका हाम्रो चेलाहरु मन्त्री मण्डल भइसके । कोहीँ सदनमा गएर कराउने भइसकेका छन् । हामीले त्यो शक्ति पाएका छौंं । त्यो शक्तिलाई हामी सबैले जगेर्ना गरेर राख्नुपर्छ, यो चाहिँ हाम्रो लागि हैं । यसले गर्दा तपाईं हामी सबै एकता बनेर जाउँ । हामी शान्तिको बाटो पछ्याएर जाँउ म यहीँ अनुरोध गर्न चाहन्छु । तपाईंहरु सबैले सबै जाति, सबै पार्टीमा कर्म गर्नेहरुले सबै किसिमले शुभकामना धन्यबाद दिनुभएको छ । मैले पनि तपाईंहरुलाई आशीर्वाद दिन चाहन्छु । त्यो आशीर्वाद लागोस् । त्यो आशीर्वाद भूइँमा नझरोस् । तपाईंहरुले आशीर्वाद लिएर जाने हो । सिद्धि शक्ति लिएर जाने हो । तपाईंहरुले माङवाहाङवा पाउनुपर्ने हो ।

 

 

 

म अब लामो समय लिन चाहन्न । तपाईंहरुमा सदा–सदा तुक्मा साक्मा मेबोङिल्ल, सिमामा?मा मेबोङिल्ल, थो कुसाङ केलसिर्, कुलिङ्धो केगेरिर, थो सेसे केयेबीर, साङ्साङ् केयेबीआङ् माङ्सेबुङ युक्पुङ् तेल्लकिन चाहिँ नुरिक ओकेमत्तुम्ल, केसेप्तुम्ल, केलोप्तुम्ल पःकम्याक आङ्गा हिनिनु आशा चोगुङ्आङ वाआ, आशा युक्खुङ्आङ् वाआ, हेक्याङ् कन्निन कुसाङ लःआङ् पेक्नी जम्मा एकता बनौं । आनी पाङभे, पान्जुम सेप्तुम लोप्तुम, सेपासी लोपासी यहीँ कुरानै तपाईंहरुसँग हार्दिक अनुरोध गर्न चाहन्छु ।

 

 

 

हामी सबैमा शान्ति होस् । ग्रहदशा शान्ति होस् । पृथ्वीलाई पनि शान्ति होस् । पृथ्वीमा भूकम्प नआओस् । नौ–दश रेक्टरको भुकम्प आयो भने त हामी त रहँदैनौ, कहाँ पसि जान्छौं जान्छौं । आगो बल्दो छ । त्यसले गर्दा अब विश्व युद्ध भयो भने त हामी नेपाली जनताहरूले त हात उठाउनको विकल्प हामीसँग केहीँ छैन् । जवाफ दिने कुरा पनि छैन् । तर, ज्ञानले जवाफ दिनुपर्छ । विश्व शान्ति मानव एकताको नाराबाट जवाफ दिनुपर्छ । तपाईंहरु पनि मानव हो, हामी पनि मानव हो त्यसैले मिल्नु पर्छ । शान्ति कायम गर्नुपर्छ भनेर लाग्यौं भने हामीले जित्यौं । अब उहीँ हतियार बनाउँदै हानाहान गर्न थाल्यौं भने जितिएन ।

 

 

 

हामी भन्दा अरु देशहरु त आकाश पताल फरक छन् । हामी त भर्खर यहाँ धूले बाटोहरु खनिराखेका छौं । गाउँगाउँमा बिजुली बत्ति भर्खर आइराखेको छ । यसले गर्दा हामीले सोच्चुपर्ने कुराहरु धेरै छ । यहीँ भन्दै तपाईंहरुले सोचेको कुराहरु, मनोकामनाहरु सबै सफल भएर जावस् । तपाईंहरु सबैलाई आशीर्वाद रहोस् । यहाँ पाल्नु भएका जति पनि हाम्रा राजनेताहरुलाई पनि मेरो तर्फबाट धन्यबाद छ, मेरो आशीर्वाद छ । मेरो भक्तजनहरू सबैलाई मेरो आशीर्वाद छ । म यहीँ कामना गर्दै, आज मेरो मन्तव्य यहीँनै टुङ्ग्याउन चाहन्छु । आसेवारो । सेवारो ! धन्यवाद !

किरात इङभो पान्जुम्भोद्धारा प्रकाशित सबैको चोत्लुङ उठोस् नामक आशीर्वचन संग्रहबाट