काठमाडौं/पूर्ण धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षता कार्यान्वयनका लागि अन्तर धार्मिक राष्ट्रिय गोलमेच सम्मेलन आगामी भदौ २३, २४, २५ गते काठमाडौमा आयोजना हुने भएको छ ।
अन्तर धार्मिक सञ्जाल, नागरिक समाज संस्था, मानव अधिकारकर्मी तथा संवैधानिक कानुन विज्ञहरुको सहकार्यमा अन्तर धार्मिक राष्ट्रिय गोलमेच सम्मेलन नेपाल मूल आयोजक समितिले सो सम्मेलनको आयोजना गर्न भएको हो ।
आयोजक समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय हित, न्याय, सुशासन र सर्वागीण विकासका सबै सम्भावनाहरू स्थापित गर्न आवश्यक धाराहरू संसोधन हुनुपर्नेमा धार्मिक समुदाय एक मत रहेको व्यहोरा जानकारी गराउँदै यसै सन्दर्भमा यहीँ २०८२ साल भदौ २३, २४, २५ गते पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता कार्यान्वयनका लागि अन्तर धार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ काठमाडौमा आयोजना हुने भएको छ ।’
हिन्दु, बौद्ध, इस्लाम, किरात, ख्रीष्टियन, बहाई, जैन, बोन, शिख, प्रणामी, मस्टो, कबिरलगायतका अन्य अल्पसंख्यक धर्म समुदायहरूका प्रतिनिधिहरु, मानव अधिकारकर्मी, कानूनविद् शान्ति निर्माणमा संलग्न संस्थाहरु, युवा तथा महिला अगुवा, राष्ट्रिय मानव अधिकार आयोग र संसदका प्रतिनिधिहरुको सहभागितामा सम्मेलन सम्पन्न गरिने अन्तर धार्मिक गोलमेल सम्मेलन नेपाल मूल आयोजक समितिले जनाएको छ ।
आयोजक समितिले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सम्मेलनको मूल उद्देश्य भनेको देशका विविध धर्म र सम्पदायहरुबीच आपसी संवाद, विश्वास, र सहकार्यको बातावरण निर्माण गर्दै संविधान संशोधन जस्ता गम्भीर विषयमा साझा धारणा र सुझाव प्रस्तुत गर्नु हो । सम्मेलनने धार्मिक स्वतन्त्रता, संविधानमा समावेश धर्मनिरपेक्षताको मर्म तथा शान्ति र मेलमिलापमा धर्म तथा धार्मिक समुदायको भूमिका माथि गहिरो बहस गर्न बलियो आधार निर्माण गर्नेछ ।’
सो सम्मेलनमा सबै सहभागिहरुद्वारा अनुमोदन गरिएको काठमाडौँ अन्तर धार्मिक घोषणा पत्र जारि गरी सम्मेलनको निष्कर्ष र सिफारिसहरू सरकार, संसद, मानव अधिकार आयोग, तथा सम्बन्धित सरोकारवाला संस्थाहरुलाई समेत बुझाइने आयोजक समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जनाएको छ ।
संयोजक थेगिमका अनुसार नेपाल जस्तो विविध धार्मिक तथा सांस्कृतिक संरचनामा आधारित राष्ट्रमा सामाजिक सद्भाव, सहिष्णुता र धार्मिक स्वतन्त्रताको संरक्षण नै दीगो शान्तिको पूर्वाधार भएको र यस सन्देशलाई सबै तहमा फैलाउन यो सम्मेलन एक ऐतिहासिक अवसर हुने विश्वास रहेको छ ।
यसरी सम्मेलन सम्पन्न गर्न डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा विभिन्न धर्मबाट प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय अन्तर धार्मिक गोलमेत सम्मेलन नेपाल मूल आयोजक समिति गठन गरिएको छ ।
यसरी गठन गरिएको मूल आयोजक समितिमा किरात धर्मबाट संयोजक सहित ७ जना, बौद्धबाट १० जना, इश्लामबाट १० जना, ख्रीष्टियनबाट १० जना र बाँकी अन्य धर्मबाट प्रतिनिधि हुने गरी समिति गठन गरिएको हो । सो समितिको संरक्षकमा माननीय विश्वेन्द्र पासवान रहनुभएको छ ।