धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङ तस्बीर : प्रविन सेलिङ सेन्दो
- ज्ञानु केदेम लिम्बू
१. पृष्ठभूमि :
नेपालको सुदूरपूर्वको जिल्ला इलामको दक्षिण–पश्चिमी भागमा अवस्थित माङसेबुङ गाउँपालिका राज्य पुनः संरचनाको क्रममा इलाम जिल्लाका साबिक बाँझो, इभाङ र गजुरमुखी गाउँ विकास समितिलाई समेटेर २०७३ साल फागुन २७ गते गठन भएको हो । ६ वटा वडा रहेको यो गाउँपालिका भाषिक, सांस्कृतिक, प्राकृतिक र धार्मिक रुपमा धनी हुनुका साथै प्राकृतिक रुपमा समेत मनोरम रहेको छ । यस गाउँपालिकामा धार्मिक पर्यटकीय तीर्थस्थलहरु विश्व मानव जगतको आस्थाको केन्द्रको रूपमा विकसित माङसेबुङ (लारूम्बा), राष्ट्रिय विभूति तथा महागुरू फाल्गुनन्द र किरात धर्मगुरू सेइङ लिङदेन आत्मानन्दको जन्मस्थल चुक्चिनाम्बा (अगौटे), पूर्वकै प्रसिद्ध धाम गजुरमुखी रहेका छन् । त्यस्तै, विराटज्योति माङहाङ, माङमाङलुङ, नाक्वालुङ, खरानेथुम्का, तीन थुम्की डाँडा, ढेंगुरे डाँडा, अन्धाराजा अन्धारानी, ज्ञान भूमि गुफाडाँडा फुलुङगी, चमेरे गुफा, पाङबुहाङ गुफा (कुसुण्डे), छाँगे झरना, अँधेरी झरना, ज्ञानभूमि तपोभूमि खत्रप्पा, घोर्लेभीर जस्ता पर्यटकीय तीर्थस्थलहरु समेत रहेका छन् ।
माङसेबुङ किरात लिम्बू भाषामा राखिएको नाम हो । किरात लिम्बू भाषामा माङ भन्नाले देवी देवता, से भन्नाले चुनेको÷छनोट गरेको र बुङ भन्नाले बासस्थान भन्ने बुझिन्छ । तसर्थ, किरात लिम्बू भाषाबाट देवी देवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई नै माङसेबुङ भनिन्छ । किनकि, यसै क्षेत्रमा किरात धर्मदर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देन, किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ, मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन, ज्योतिनन्द गुरू, सचितानन्द गुरू (विद्यानन्द गुरू) लगायतका गुरूहरुको जन्म भएकोले यस स्थानको नाम माङसेबुङ रहन गएको हो ।
२. माङसेबुङबारे पूर्व चर्चा :
माङसेबुङ धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले विशिष्ट पहिचान बनेको क्षेत्र हो । किरात धर्ममा आस्था राख्ने धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल हो । यहाँ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको कर्मस्थल पनि रहनुले यसको महिमा बढ्दै गएको हो । यस पुण्यभूमिको महत्व र सम्भावनाबारे विभिन्न लेखकहरूले खोज अनुसन्धान गरेर आफ्ना कृति, पत्रपत्रिका तथा अनलाइन मिडियामार्फत प्रस्तुत गरेका छन् ।
किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्यूहरुको स्थायी बसोबास हुन थालेपछि माङसेबुङको प्रचार र विकास सुरु भएको लेखक आङबुहाङ अबोध अविरलले ‘किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ’ (२०६७) मा उल्लेख गर्नुभएको छ ।
धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङ तस्बीर : प्रविन सेलिङ सेन्दो
माङसेबुङ क्षेत्र किरात धर्मावलम्बीहरुको तीर्थस्थल हुन अगाडि मान्द्रेडाँडा भनेर चिनिन्थ्यो भनेर यसको ऐतिहासिकता र आध्यात्मिक महत्वबारे ‘माङसेबुङ संक्षिप्त परिचय’ (२०६८) मा वर्णन गरिएको छ । संसारभर रहेका किरात धर्मावलम्बीहरूको मुजोत्लुङ (केन्द्रीय) माङहिम र किरात साम्जीक मुन्धुम अध्ययन अध्यापन हुने निसामहिम पनि माङसेबुङमै रहेको छ । यसैगरी किरात धर्मावलम्बीहरुको एकमात्र आस्थाको केन्द्र ‘माङसेबुङ’ को नामबाट नै गाउँपालिकाको नामाकरण समेत गरिएको हो (माङसेबुङ दर्पण, २०८१, पृ. ३–४) ।
करिब साढे चार दशक अघि दुर्गम र अविकसित क्षेत्रको रूपमा रहेको मान्द्रेडाँडा छेउ लारुम्बामा किरात धर्मगुरू स्थायी बसोबास गर्नुभएपछि त्यहाँ विकासका पूर्वाधार सुरू भयो । यसरी माङहिम, निसामहिम निर्माण गरी माङसेबुङ डाँडालाई सम्याउने कार्य शुरू भयो । किरात धार्मिक कार्यक्रमहरु सेवा सोही ठाउँमा आयोजना हुन थाले । जसका कारण संसारभरका किरात धर्मावलम्बीहरूको आवतजावत हुन थालेपछि माङसेबुङको चर्चा पनि चलिँदै गएको हो (माङसेबुङ मासिक, २०७४, पृ. ३–४) ।
यिनै पूर्व कार्यहरुका आधारमा धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङको ऐतिहासिक महत्व, अहिलेको अबस्था, पर्यटन प्रवद्र्धनको सम्भावना र चुनौतीका विषयमा यो लेखन केन्द्रीत रहेको छ ।
३. ऐतिहासिक पृष्ठभूमि र नामाकरण :
धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङ नेपालको सुदूर पूर्व जिल्ला इलामको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छ । माङसेबुङ, किरात लिम्बू भाषामा राखिएको नाम हो । किरात लिम्बू भाषामा ‘माङ’ भन्नाले देवी देवता, ‘से’ भन्नाले चुनेको वा छनोट गरेको र ‘बुङ’ भन्नाले बासस्थान, स्थल वा ठाउँ भन्ने बुझिन्छ । तसर्थ, किरात लिम्बू भाषाबाट देवी देवताको बासस्थान भएको स्थल वा ठाउँ भन्ने अर्थमा माङसेबुङ नामाकरण गरिएको हो । अर्थात ‘माङसेबुङ’ भन्नाले माङ (ईश्वर) ले रोजेको पवित्र स्थल भन्ने बुझिन्छ । धार्मिक तीर्थस्थल र शाकाहारी शहरको पहिचान बोकेको इलामको माङसेबुङ किरात धर्मावलम्बीको आस्थाको केन्द्रस्थल हो ।
तत्कालीन मान्द्रेडाँडाको शिर मान्द्रे थुम्की समुन्द्र सतहबाट करिब ९ सय ५० मिटर उचाँइमा रहेको छ । यो थुम्कीको विशेषता बेगल छ । यहाँ करिब साढे चार दशक अघि दुर्गम, अनकन्टार डाँडा मात्र रहेको थियो । वि. स. २०३४÷३५ साल अघिसम्म विकट र अनकन्टार जंगलले ढाकेको, वारिपारी पातलो वस्ती मात्र रहेको सो थुम्कीको शिरमा रहेको पोखरीको छेउमा देवस्थल रहेको थियो । यहाँ गाई वस्तु चाराउने र शिकार खेल्ने जस्ता काम गरिन्थ्यो । जा ेपछि धार्मिक महत्त्वको क्षेत्र बन्न पुगेको । (केहेरसिं योङहाङसँग कुराकानीमा आधारित)
स्थानीयवासी तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार उक्त थुम्कीमा सिकार गर्न जाँदा केहीँ न केहीँ पशुपंक्षी भेटिने तर केही गर्दा पनि सिकार मार्न नसकिने हुन्थ्यो । त्यहाँ केही दैवी शक्ति रहेकोले सिकार गर्न नसकिने उनीहरूले अनुभव पाएका थिए ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन तस्बीर : ज्ञानु केदेम
४. माङले रोजेको ठाउँ ‘माङसेबुङ’ :
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले पुर्खौंली थलो इलामको माङसेबुङ गाउँपालिका २, साविक इभाङ चुक्चिनाम्वा छाड्नु भएपछि आश्रम निर्माणका लागि ताप्लेजुङको कावेली, पान्थरको रबी, फुडसेड, नवमीडाँडा, इलाम बाँझोको नवमी, मानपुर, झापाको दमक छनोट गर्नुभएको थियो ।
तर, सो स्थानहरूमा स्थायी बसोबासका लागि गुरूआश्रम निर्माण हुन सकेन । अन्त्यमा वहाँहरु स्थायी वसोवास गर्न बाँझो आदिपुर लारुम्बामा पुग्नुभयो । वहाँहरु लारुम्बामा बसोबास गरेर माङसेबुङको सामाजिक, धार्मिक, साँस्कृतिक र भौतिक विकासमा अहोरात्र लागिपर्नुभयो । परिणामस्वरूप माङसेबुङ किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको छ ।
माङसेबुङको पूर्वी मोहडामा लारुम्बा गाउँ रहेको छ । लारुम्बामा वि.सं. २०३५ मा किरात धर्मगुरूको निजी आश्रम निर्माण गरिएको थियो । त्यसपछि धर्मगुरूको दर्शनभेट, मुन्धुम अध्ययन र गुरू नुमाङगेन्नाका लागि प्रत्येक साल भक्तजन आउने–जाने क्रम बढ्दै गयो । यसैक्रममा वि.सं. २०५० को दशकमा आइपुग्दा गुरू माङगेन्नामा सहभागी हुन ठूलो संख्यामा भक्तजन उपस्थित हुन थाले । त्यसपछि माङहिम र फराकिलो कार्यक्रम स्थल निर्माणका निम्ति धर्मगुरूले मान्द्रेडाँडालाई रोज्नुभयो । वि.सं. २०४९ मा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाको पहलमा मान्दे्रडाँडामा जग्गा खरिद गरियो । (केहेरंिस योङहाङसँग कुराकानीमा आधारित)
माङसेबुङमा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिम तस्बीर : ज्ञानु केदेम
सो स्थानमा वि.सं. २०५० कात्तिक २५ गते मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १०९ औं जन्मजयन्तीको अवसरमा किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनले विश्व शान्ति तथा मानव एकताका लागि महावत्ति र अखण्ड धुनी प्रज्वलन गरेर किरात केन्द्रीय माङहिम ‘किरात हाडसाम मुजोत्लुड माङहिम’को उद्घाटन गर्नुभएको थियो । यसरी मान्द्रेडाँडामा माङहिम स्थापनापछि सो स्थानको नाम किरात मुन्धुमी भाषामा नामाकरण भयो, माङसेबुड । त्यसपछि माङसेबुङलाई किरात धर्मावलम्बीको केन्द्रीय धार्मिकस्थलको रूपमा श्रद्धा गर्न थालिएको छ ।
सुरुका दिनहरूमा माङहिम अवस्थित मान्द्रेडाँडालाई मात्र माङसेबुङको रूपमा चिनिन्थ्यो । तर, समयसँगै माङसेबुङको चर्चा हुँदै जाँदा यसको क्षेत्र पनि विस्तार भएर गएको छ । मानिसको बसोबास र भौतिक संरचना बढ्दै गएपछि साविक बाँझोको ८ र ९ वडामा फैलिएको माङसेबुडलाई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै राज्य पुनः संरचना हुने सिलसिलामा इलाममा १० वटा स्थानीय संरचना बनाउँदा माङसेबुङ गाउँपालिका पनि बन्न सफल भएको छ । साविक बाँझो, इभाङ र गजुरमुखी गा.वि.स.लाई समायोजन गरी माङसेबुङ बनाइएकोले यसको क्षेत्र बृहत् बनेर विस्तार भएको हो ।
४.१ मुन्धुम शिक्षा र भाषिक लडाँइ :
किरात साम्जीक मुन्धुम पढाई हुने विश्वमा एकमात्र निसामहिम, किरात साम्जिक मुन्धुम निसामहिम २०४१ सालमा गुरु निजी आश्रमबाट सुरु गरिएको थियो । मुन्धुम पठनपाठनका लागि ५६ सालमा किरात साम्जिक मुन्धुम निसामहिमको औपचारिक उद्घाटन गरेर किरात मुन्धुमको संरक्षण र विकास गर्दै किरात माङसेवासाबा उत्पादन गर्न किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति र मुन्धुम पढाउदै आएको छ (आङबुहाङ, सरस्वता, स्मृति ग्रन्थ, २०६७ पृ. ५९८—६०६) ।
माङसेबुङमा अवस्थित किरात साम्जीक मुन्धुम निसामहिम तस्बीर : प्रविन सेलिङ सेन्दो
यहाँको शैक्षिक तह हेक्सीङ, युक्सीङ, चम्सीङ, थाङसीङ पहिलो र दोस्रो वर्ष निर्धारण गरिएको छ (ललितचन्द्र फियाकसँग कुराकानीमा आधारित) । यसरी नै वि.स. २०७१ सालमा किरात भाषा साहित्य, मुन्धुम र खस भाषा (औपचारिक शिक्षा) पढाई हुने किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम समेत स्थापना गरी शिक्षा दिक्षा दिइदै आएको छ ।
किरात साम्जीक मुन्धुम निसामहिमले २०५६ सालदेखि किरात मुन्धुमको संरक्षण र विकास गर्दै किरात माङसेवासाबा उत्पादन गर्न किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति र मुन्धुम पढाउँदै आएको छ । त्यसैगरी भालुटारमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा साधारण शिक्षातर्फ कक्षा १२ सम्म पठनपाठन हुँदै आइरहेको छ । भने, २०७७ सालयता प्राविधिक शिक्षाअन्र्तगत बाली विज्ञानसमेत पढाई हुँदै आएको छ (माङसेबुङ मासिक २०७७ पृ. ३४) । सोही विद्यालयमा कक्षा ११, १२ मा किरात लिम्बू भाषा समेत पठनपाठन भइरहेको छ । त्यसैगरी श्री फाल्गुनन्द सेकेण्डरी बोर्डिङ स्कूल, श्री पवित्र प्रा. वि., लक्ष्मी इडन बोर्डिङ स्कूलहरुमा पनि किरात लिम्बू भाषाको पढाई हुँदै आएको छ ।
उच्च शिक्षाको लागि सरस्वती मा. वि. को भवनमा नै सञ्चालन गर्ने भनि लिङ्देन आत्मानन्द सेइङ बहुमुखी क्याम्पस प्रस्तावित रुपमा रहेको छ । भाषा साहित्यको संरक्षण सम्बद्र्धनमा अग्रणी भूमिकामा रहन्दै आएको माङसेबुङ गाउँपालिका वडा नं. ५, मा अवस्थित धार्मिकस्थल माङसेबुङमा किरात लिपि र किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागू गरिएको छ । वि.स. २०७५ साल मंसिर १३ गते औपचारिक घोषणा गरेर किरात लिपि र किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा लागू गरिएको हो (माङसेबुङ मासिक, २०७५, चैत पृ. ३–४) । लिम्बू समुदायको बाहुल्यता रहेको यस वडामा स्थानीय भाषाको सम्मान गर्दै किरात लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरेको हो । यहाँ करिब ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ ।
भालुटारमा अवस्थित प्रथम किरात राजा यलम्बरहाङको प्रतिमा तस्बीर : ज्ञानु केदेम
४.२ शाकाहारीस्थल माङसेबुङ :
स्थानीयबासी किरात धर्मावलम्बीहरुको अनुरोध र पहलमा वि. स. २०७२ फागुन २० गते माङसेबुङलाई शाकाहारी क्षेत्र घोषणा गर्ने ऐतिहासिक निर्णय गरेको थियो । सो निर्णयले माङसेबुङलाई शाकाहारी गाउँमा मात्रै परिणत गरेको छैन, यसको धार्मिक र पर्यटकीय महत्वलाई अझ बढाएको छ (माङसेबुङ बुलेटिन पृ. ३२) । स्थानीयको निर्णयलाई कार्यान्वयन गर्दै, जिल्ला प्रशासन कार्यालय इलामले वि.स. २०७२ साल चैत ११ गते माङसेबुङलाई शाकाहारी क्षेत्र घोषणा गरेको थियो ।
सरकार वा सुरक्षा प्रशासनको दवाब र प्रभावका कारण नभइ यहाँ बसोबास गर्ने स्थानीयवासीले नै स्वतः स्फूत पशुबली, मंश, मदमदिरा, धुम्रपान, हूलहुज्जत निषेधित क्षेत्र घोषणा गरेको हो । विकृति विसंगति र हत्या हिंसा रहित शुद्ध शाकाहारीस्थल निर्माण गर्ने उद्देश्यले अङसीमाङ तथा अङसीमामाङको समुपस्थितिमा तत्कालीन इलाम सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले माङसेबुङलाई शाकाहारी क्षेत्र घोषणा गरेका थिए (माङगेन्ना मासिक पृ. १) ।
धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङ तस्बीर : प्रविन सेलिङ सेन्दो
‘सामाजिक सुरक्षा तथा सौहार्दपूर्ण वातावरणलाई असर पार्ने सबै क्रियाकलापहरु र पृथ्वीमा रहेको सबै प्राणीहरु समान बाँच्न पाउने अधिकार छ भन्ने विश्वव्यापी मान्यतालाई अंगिकार गर्दै शाकाहारी क्षेत्र घोषणा गरेका हौँ ।’ (केहेरसिं योङहाङसँगको कुराकानीमा आधारित)
यसरी शाकाहारी क्षेत्र घोषणा गरिएको चार किल्लामा पूर्वमा बेलबोटे (माङसेबुङ साविक बाँझो सिमाना), चुनियाँ, एक्ले सखुवा हुँदै मेक्वा खोलासम्म, पश्चिममा फेदिखोला हुँदै रतुवा खोला, घर्ति दोभान, बाघमारा, फाल्गुनन्द धार्मिक वनदेखि मझुवा खोलासम्म रहेको छ । भने, उत्तर क्षेत्रमा भञ्ज्याङको नेम्बाङ चोक खोल्सी हुँदै मेक्वा खोला र दक्षिणमा मझुवा खोला, पाङग्रेधाम पूर्व चूली, रिखुवा खोला हुँदै गंगटे शिरसम्म निर्धारण गरिएको छ (माङगेन्ना मासिक, पृ. १) ।
४.३ भौगोलिक र सामाजिक अबस्था :
माङसेबुङ करिब साढे चार दशक अघि दुर्गम र अनकन्टार जङ्गलले ढाकेको, वारिपारी पातलो बस्ती मात्र रहेको थियो । माङसेबुङको वरिपरि आठ पाटा छन् । आठै पाटामा पानीको मुहान पनि रहेको छ । एउटै ठाउँ भएपनि बेगल बेगल मौसम पाइने माङसेबुङमा एकातिर चिसो पाटा छ भने अर्काे पाटा घमाइलो छ । यसको उत्तर पूर्वमा मेक्वा, देउमाई र माई खोला बग्छ भने दक्षिण पश्चिम दिशाबाट रतुवा खोला बग्ने गर्छ । (केहेरंिस योङहाङसँग कुराकानीमा आधारित)
माङसेबुङ डाँडा भरिएको पाथी आकारको देखिन्छ । यसको पूर्वी मोहडा गुरूआश्रम लारुम्बा, खानिटार, फुलुङ्गी हुँदै माइखोलासम्म फैलिएको छ । यसैगरी उत्तरी मोहडाको जग मेक्वा खोलाबाट उठेको र दक्षिण पश्चिमी मोहडा मझुवा, भालुटार, लामिटारजस्ता टार बनाउँदै रतुवा खोलामा टुङ्गिन्छ (आङबुहाङ, स्मृति ग्रन्थ २०६७, पृ. ५९१) । माङसेबुङ झापाको दमकबाट १७ किलोमिटर उत्तर, इलाम सदरमुकामबाट करिब ६० कि.मि. पश्चिम, पान्थरको रवीबाट करिब २५ कि.मि. दक्षिण र धनकुटाको मिक्लाजोडबाट करिब २० कि.मि. पूर्वमा अवस्थित छ ।
समुन्द्री सतहबाट ९ सय मिटर उचाइमा रहेको माङसेबुङबाट इलाम, झापा, मोरङ, धनकुटा र पान्थरका विभिन्न स्थलहरू देखिन्छन् । माङसेबुडवाट इलामको महमाई, दानाबारी, जीतपुर, इभाड, लक्ष्मीपुर, फिक्कल, हर्कटे, कन्याम, सिद्धिथुम्का, थालाचेप्पा, चिसापानी पञ्चमी, साकफारा, झापाको दमक, बिर्तामोड देखिन्छ । यसैगरी मोरङको उर्लाबारी, रमितेडाँडा र पान्थर, इलाम तथा धनकुटाको संगमस्थल मिक्लाजोङसमेत राम्ररी दृश्यावलोकन गर्न सकिन्छ ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुलाई स्वागत गर्दै किरात धर्मावलम्बीहरु तस्बीर ज्ञानु केदेम
माङसेबुङ रिङरोड परिसर भित्र (बाटोमाथि) बस्ती छैन, सो क्षेत्रमा खेतीपाति नगर्ने भनि जङ्गल बढाउँदै लगिएको छ । त्यसैले केही ठाउँमा चियाको खेती लगाइएको छ । थोरै जग्गामा धूपी र सल्ला पनि रोपिएको छ । २०६० साल यता वर्षेनी वृक्षारोपण गरिँदै आएको छ । यसरी बढाउँदै लगिएको वन जंगललाई संरक्षण, सम्बद्र्धन गर्न २०७२ जेठ १ गते ताम्भुङला ताङसेप येत्हाङ मुककोक्मा माङसेबुङ नामक संस्था स्थापना गरिएको छ (माङगेन्ना मासिक, साउन २०७२ पृ. १) ।
झापाको दमकबाट करिब १५ किलोमिटर फाल्गुनन्द मार्ग (दमक–चिसोपानी–रवि सडक) रतुवा खोलाको किनारै किनार छिचोलेर केही उकालो चढेपछि माङसेबुङ पुगिन्छ भने झापाको विर्तामोडदेखि इलामको माई नगरपालिका हुँदै आत्मानन्द मार्गबाट पनि माङसेबुङ पुग्न सकिन्छ । इलामको सदरमुकामबाट माइ नगरपालिका हुँदै आत्मानन्द मार्ग भएर पनि जान सकिन्छ । त्यस्तै, सदरमुकामबाट देउमाई नगरपालिकाको बाटो हुँदै पनि माङसेबुङ पुग्न सकिन्छ । यसरी नै पान्थरको रबि बजारहँुदै फाल्गुनन्द मार्ग भएर पनि पुगिन्छ ।
पछिल्लो समय धार्मिक पर्यटकीय तीर्थस्थलको रुपमा संसारभर चर्चा हुँदै आएको माङसेबुङ क्षेत्रमा १६ वटा टोल रहेका छन् । जसमा लासिङबुङ, कुवापानी, अमदेन, फेनाबुङ, सेनेला, सेसेला, मिक्तोक्ला, नाम्तोक्ला, बेलबोटे, नेनेदेन, भालुटार, वाबुङदेन, धराने, लारुम्बा चुनिया, रुपाङगे, भञ्ज्याङलगायत रहेका छन् ।
माङसेबुङमा किरात धर्ममा आस्थावान लिम्बू, राई, मगर, गुरुङ, सुनवार, याक्खा, नेवार, ठाकुर र शिल्पी समुदायका कामी, दमाई लगायत जातीय समावेशी बसोवास रहेको छ । यहाँ धान, मकै, कोदो, आलु र नगदे बाली अदुवा, दाल, अलिम्सो, अंलैची, फलफूल आदि उत्पादन हुन्छ ।
५.माङसेबुङको वर्तमान अबस्था :
किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल माङसेबुङमा वि.स. २०५० सालमा किरात केन्द्रीय माङहिम ‘किरात हाङसाम मुजोत्लुङ माङहिम’को स्थापना गरिएको छ । माङहिम नजिकै प्रवचन प्राङ्गण निर्माण गरिएको छ । प्रवचन प्राङगण भएको ठाउँमा निकट भविष्यमा किरात केन्द्रीय माङहिम बनाइने तयारी छ । (केहेरसिं योङहाङसँगको कुराकानीमा आधारित)
यस स्थानमा २०६१/०६२ मा किरात धर्मावलम्बीहरुको जनश्रमदानबाट साढे पाँच किलोमिटरको माङसेबुङ चक्रपथ (रिङरोड) निर्माण भएको छ । चक्रपथ निर्माण कार्य वि.स. २०५९ असारदेखि सुरु गरी वि.सं. २०६१ कार्तिकमा सम्पन्न भएको हो । चक्रपथलाई स्तरोन्नतिका लागि पछिल्लो समयमा प्रदेश सरकारको लगानीमा विस्तृत परियोजना सर्वेक्षण (डिपिआर) गरिएको छ । डिपिआर गरिएपछि आर्थिक वर्ष २०७५/०७६ मा दुई करोड र अर्को आर्थिक वर्ष २०७६/०७७ मा दुई करोड बजेट प्रदेश सरकारले विनियोजन गरी चक्रपथको स्तरोन्नतिको काम भएको थियो (माङसेबुङ पत्रिका, साउन, ०७७, पृ. २७) ।
किरात धर्मावलम्बीहरुको सहयोगमा माङसेबुङको शिरमा रहेको डाँडामा पनि सेवा गर्ने एक माङहिम निर्माण गरिएको छ । त्यसैगरी वि.स. २०६१ साल कार्तिक २५ गते फाल्गुनन्द मार्गको भञ्ज्याङमा महागुरु फाल्गुनन्द लिङ्देनको पहिलो प्रतिमा समेत स्थापना भएको छ । यहाँको भालुटारमा शाकाहारी बुधबारे हटिया लाग्दै आएको छ । सो क्षेत्रमा माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात प्रथम राजा यलम्बरको शालिक निर्माण भएको छ । यहाँस्थित सरस्वति मा. वि. परिसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको पूर्ण कदको प्रतिमा समेत स्थापना गरिएको छ । माङसेबुङलाई धार्मिक साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न माङसेबुङ गाउँपालिकाको सहयोगमा गुरुयोजना तयार भएको छ ।
माङसेबुङको भालुटारमा अवस्थित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको प्रतिमा
माङसेबुङमा प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालय इलामले आत्मा पवित्र बसपार्कको लागि काम थाले पनि डिपिआरपछि २०७७ सालमा माटो काट्ने काम बाहेक थप काम हुन सकेको छैन । विभिन्न जातजातिका जीवजन्तु, पशुपंक्षीको छुटछुटै बासस्थान, पोखरी, गेट, भवनलगायतका संरचनाहरु निर्माण गर्न बनाइएको पवित्रहाङमा चिडियाखानाको पनि डिपिआर भएको छ । डिपिआरपछि निर्माण कार्य सुरु गरी पोलहरु गाड्ने, जाली लगाउने काम भइरहेको देख्न सकिन्छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यको बुँदा नं. ११४ मा नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने उल्लेख छ । नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरूमा ‘गुरु फाल्गुनन्द सर्किट’ राखिएको छ । गुरु फाल्गुनन्द सर्किटमा पाँचथरको लोब्रेकुटी, इलामको चुक्चिनाम्बा, गजुरमुखीधाम र माङसेबुङ (लारुम्बा) समावेश छन् ।
नेपाल सरकारले पर्यटन प्रवद्र्धन र विकासका लागि पहिचान गरेको भए पनि पर्यटनमा आवश्यक संरचना निर्माणमा सरकारी बजेट पर्न सकेको छैन । यसरी सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेको करिब सात वर्ष बितिसक्दा पनि माङसेबुङमा अहिलेसम्म पर्यटन प्रवद्र्धनका लागि कुनै भौतिक पूर्वाधार निर्माण भएको छैन । किरात धर्म दर्शनलाई प्रचार–प्रसार र सम्वद्र्धन गर्दै आएका धार्मिक र सामाजिक संस्थाहरूले प्रयास गर्दै आए पनि सफल हुन सकेका छैनन् (केहेरसिं योङहाङसँगको कुराकानी आधारित) ।
६. धार्मिक पर्यटनको सम्भावना र चुनौति :
माङसेबुङ एक धार्मिक पर्यटकीय क्षेत्र बन्ने प्रचुर सम्भावना बोकेको इलाम जिल्लाको स्थानीय तह हो । माङसेबुङमा रहेको किरात समुदायको केन्द्रीय धार्मिकस्थल माङसेबुङ, गजुरमुखि धाम, माङमालुङ (थालाचेप्पा) धार्मिक पर्यटकीय क्षेत्रहरु त सामान्य प्रचार प्रसार गरिएको भए पनि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र अङसीमाङ आत्मानन्द तथा अङसीमामाङ पवित्रहाङमाको जन्मभूमि र तपोभूमिहरु प्रचार प्रसार र विकास निर्माणबाट ओझेलमा परेका छन् । यी ऐतिहासिक र महत्त्वपूर्ण धार्मिकस्थल बाहेक पनि माङसेबुङमा असंख्य धार्मिक पर्यटकीयस्थल बन्न सक्ने र बनाउन सकिने क्षेत्रहरु रहेका छन् । तर, यसमा राज्यको नजर पुग्न जरुरी छ ।
‘किरात धर्मावलम्बीहरुको पहलमा निर्माण भइरहेको माङसेबुङलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न, गराउन राज्य नै लाग्न आवश्यक छ । यसका लागि आवश्यक पूर्वाधारहरुको निर्माणमा राज्य अनुदार नहुने हो भने, माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्न धेरैं समय कुर्नु पर्दैन’, (माङसेबुङ दर्पण, २०८१, पृ. ६) ।
माङसेबुङमा आयोजित सावायेहाङ किरात नुमाङगेन्ना सेवामा माङगेन्न मुन्धुम वाचन गर्दै माङसेवासाबाहरु तस्बीर : ज्ञानु केदेम
यसरी किरात धर्मावलम्बीहरूको धार्मिक केन्द्रका रूपमा विकास भएपछि माङसेबुङमा नेपालका पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीहरू, सभामुख, मन्त्रीहरू, सांसदहरू र विश्वका किरात धर्मावलम्बीहरूले तीर्थाटन गर्न थालेका छन् । हजारौं वर्षको इतिहास भएको हिन्दूको वनारस, बौद्धको लुम्बिनी, ईसाइको जेरूसेलम र इस्लामको मक्का मदिना जस्तै किरातको माङसेबुङ पनि धार्मिक नगरको रूपमा पछिल्लो समय विकास हुँदै गएको छ ।
‘माङसेबुङलाई किरात धर्मावलम्बीहरूको धार्मिक नगरको रूपमा विकास गर्न सके यो नेपाललाई चिनाउने लुम्बिनीजस्तै अर्को ‘ब्रान्ड’ बन्न सक्छ । जसले नेपालको धार्मिक पर्यटनमा सहयोग त पु¥याउँछ नै र नेपाल हिन्दू, बौद्ध र किरात धर्मका लागि पवित्र धार्मिक स्थल बन्नेछ’, (आङबुङहाङ, स्मृति ग्रन्थ, २०६७, पृ. ५९७) ।
यहाँ आवतजावतका लागि बाह्रै महिना यातायात सञ्चालन हुने सडक बन्न सकेको छैन् । हिउँदभरी किरात धर्मावलम्बी भक्तजन साथै आन्तरिक तथा वाह्य पर्यटकहरु सहज आवतजावत गरिरहेको भएपनि वर्षायाममा यातायातको समस्या हुने गरेको छ । पर्यटकहरुको आवासका लागि व्यवस्थित होटल, गेष्टहाउसहरु निर्माण र सञ्चालन हुन सकेका छैन् । भरपर्दो विद्युत, सञ्चार र स्वास्थ्य सेवा समेत सञ्चालन हुन सकेका छैनन् । त्यसैले माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न यस विषयमा तीनै तहका सरकारले पहल गर्न आवश्यक छ । यसो गर्न सके इलामका प्रसिद्ध पर्यटकीय क्षेत्रको अर्को पृथक नाम माङसेबुङले धार्मिक पर्यटनको विकास गर्न सक्छ ।
यसैगरी पर्यटन प्रवद्र्धन र विकासको लागि नेपाल सरकारले ‘माङसेबुङ सर्किट’को रुपमा नयाँ गन्तव्यको रुपमा पहिचान गर्ने गरी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा नामक संस्थाबाट माङसेबुङ लारुम्बाबाट गुरुआमा जन्मस्थल उत्तरे, चुक्चीनाम्बा, महागुरु जन्मस्थल डाडाँगाउँ, गुरु जन्मस्थल अगौटेबारी, देउमाई नगरपालिकामा अवस्थित महागुरु तपोभुमि खत्रक्पा, फुलुङगी र माई नगरपालिकामा अवस्थि मैना चुली हाङसाम वरक जोडेर अवधारणा पत्र नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश गरिएको छ । तर यसको अहिलेसम्म कुनै सुनवाई हुन सकेको छैन । (नन्दकुमार नेम्बाङसँगको कुराकानीमा आधारित)
माङसेबुङमा वर्षेनी आयोजना हुने कार्यक्रमहरुमा देश विदेशका लाखौं भक्तजनहरुको आवतजावत हुने गरेको छ । कार्यक्रममा सहभागि हुन र विशेष गरी किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनहरुको दर्शनभेट गर्न दैनिक दर्शनार्थीहरु माङसेबुङ आउने जाने गरेका छन् ।
यसरी माङसेबुङमा वर्षेनी कार्तिक २५ गते किरात धर्म दर्शनका पुनः उत्थापक, समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती, मंसिर १८ र १९ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइड जन्मोत्सव (उधौली सेवा), माघ ५ र ६ गते सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा (उभौली सेवा) र फागुन ३ गते मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन जन्मोत्सव विशेष आकर्षणको रूपमा सभ्य र भव्य रूपमा समारोह आयोजना गरी मनाउने गर्दछन् । यी बाहेक अन्य स–साना कार्यक्रम र उत्सवहरू अनगिन्ती आयोजना हुने गरेका छन् (माङसेबुङ संक्षिप्त परिचय, ०६८, पृ. १३–१४) ।
७. निष्कर्ष
माङसेबुङको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको जगेर्ना र विकासका लागि तीनवटै तहका सरकारहरू तथा निजी क्षेत्रको संयुक्त पहल अपरिहार्य छ । माङसेबुङलाई विश्व सम्पदा सूचीमा समावेश गराउने दीर्घकालीन प्रयास गर्न आवश्यक छ । किरात धर्मको अध्यात्मिक राजधानीका रूपमा यसलाई विकास गर्दा नेपालको धार्मिक पर्यटनमा एउटा नयाँ ‘ब्रान्ड’ थपिन सक्छ । यसको लागि सरोकारवालाहरुले दीर्घकालीन नीति र योजना तर्जुमा गरी कार्यान्वयनमा त्यतिकै लाग्न आवश्यक छ ।
यहाँको धार्मिक पर्यटकीय क्षेत्रहरु सामान्य प्रचारप्रसार गरिएको भए पनि पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भावना बोकेका थुप्रै क्षेत्रहरु प्रचार प्रसार र विकास निर्माणबाट ओझेलमा परेका छन् । यी ऐतिहासिक र महत्त्वपूर्ण धार्मिकस्थलहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एउटा माङसेबुङ सर्किटको अवधारणा निर्माण गरी कार्यान्वयन गर्न सबैले पहल गर्नु बुद्धिमता हुनेछ ।
माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवामा माङवाहाङवा ग्रहण गर्दै किरात धर्मावलम्बीहरु तस्बीर : ज्ञानु केदेम
सन्दर्भ सामग्रीहरु
आङबुहाङ, अबोध अविरल । २०६७ । ‘माङसेबुङ : धार्मिक नगरको सपना र सम्भावना’, किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ । (किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ)
आङबुहाङ, सरस्वता । २०६७ । ‘किरात साम्जीक मुन्धुम निसामहिम’, किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ । (किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ)
केदेम, ज्ञानु र अरु (सं.) (२०८१), माङसेबुङ दर्पण । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय इभाङ, धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङ, (किरात इङभो पान्जुम्भो र माङसेबुङ पब्लिकेशन्स एण्ड मिडिया प्रा. लि.)
केदेम, ज्ञानु । माङसेबुङ मासिक, वर्ष ३, अंक ४, चैत २०७५ । सरकारी कामकाजमा लिम्बू भाषा र किरात लिपि, ३–८ । धनबहादुर थेवे ‘निवाहाङ’ ।
केदेम, ज्ञानु । माङसेबुङ मासिक, वर्ष २, अंक २, पुस २०७४ । धार्मिक पर्यटकीयस्थल माङसेबुङ, ३–६ । धनबहादुर थेवे ‘निवाहाङ’ ।
माङसेबुङ मासिक, वर्ष ४, अंक ७, साउन २०७७ । धनबहादुर थेवे ‘निवाहाङ’ ।
माङसेबुङ संक्षिप्त परिचय । २०६८ । माङसेबुङ पर्यटन विकास केन्द्र
केदेम, ज्ञानु । माङसेबुङ मासिक, वर्ष ६, अंक १२, मंसिर २०७९ । सत्य, शान्ति र एकताका संवाहक लिङ्देन आत्मानन्द सेइङ संक्षिप्तमा, ३–९ । धनबहादुर थेवे ‘निवाहाङ’ ।
किरात इङसे, वर्ष ४, अंक २, फागुन २०८१ । धार्मिकस्थल माङसेबुङको चर्चा, किरात इङभो पान्जुम्भो,
माङसेबुङ गाउँपालिकाको वेबसाइट
https://mansebungmun.gov.np
यी हुन् एक सय वटा नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित) (कात्तिक १५, २०७५)‚ देश सञ्चार, https://deshsanchar.com
केदेम, ज्ञानु(२०६७) । ‘निषेधित क्षेत्र बन्दै माङसेबुङ, सुधार समिति गठन’, माङगेन्ना मासिक (वर्ष १, अंक २/३, २०६७ ), पदमकुमार लाओती ।
केदेम, ज्ञानु (२०८०) । पर्यटकको रोजाईमा इलामका पर्यटकीय गन्तव्यहरु, माङसेबुङ मासिक (वर्ष ८, अंक १, पुष), पृ. ६–७ । धनबहादुर थेवे ‘निवाहाङ’ ।
माङगेन्ना मासिक, वर्ष ७, २०७२ । हरियाली बन्दै धार्मिक पर्यटकीयस्थल माङसेबुङ, पृ. १ । पदमकुमार लाओती ।
माङसेबुङ बुलेटिन, (वर्ष १, अंक १, २०७८÷०७९), ‘शाकाहारी तीर्थाटन क्षेत्र : माङसेबुङ’, कमन देवान (सं.), माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय ।
स्रोत व्यक्ति
केहेरसिं योङहाङ, अध्यक्ष : किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, माङसेबुङ, इलाम (मिति २०८२ जेठ १२ गते)
नन्दकुमार नेम्बाङ, पूर्व सचिव : किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, माङसेबुङ, इलाम (मिति २०८२ जेठ १२ गते)
ललितचन्द्र फियाक, तुम सिक्साम्बा : किरात साम्जीक मुन्धुम निसामहिम, माङसेबुङ, इलाम (मिति २०८२ जेठ १२ गते)