माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी समारोह आयोजना हुने भएको छ ।
आगामी जेठ तेस्रो साता सप्ताह व्यापी रुपमा आयोजना गरिएको विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा जेठ १६ देखि २३ गतेसम्म किरात धार्मिक तीर्थस्थल माङसेबुङमा आयोजना गरिएको हो ।
यसरी सप्ताहव्यापी आयोजना गरिएको सेवालाई भव्य रुपमा सम्पन्न गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, किरात धर्म तथा साहित्य उत्थान संघ लगायत सम्पूर्ण किरात धार्मिक संघ संस्थाहरु आयोजक समिति रहने गरी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।
कार्यक्रम अन्तर्गत आगामी जेठ १६ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीमा बृहत साक्मुरा वादेम्मा सेवा हुने भएको छ ।
आयोजक समितिका अनुसार जेठ १७ र १८ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा देवी देउराली, ताम्भुङ तेल्ला सेवा तथा युमामाङ, थेबामाङ र हिममाङ सेवा हुने छ । भने, जेठ १९ गते येत् नाम्धुङ लाधुङ सेमी सेवास्थल सजिसजावट हुने माङसेवा विभाग संयोजक किरात साम्यो माङसेवासाबा पान्जुम्भोले जनाएको छ ।
यसैगरी जेठ २० गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवाका लागि येत् नाम्धुड लाधुङसेमी सेवा सञ्चालन हुने आयोजक समितिका अध्यक्ष केहेरसिं योङहाङको भनाई छ ।
आयोजक समितिका अध्यक्ष योङहाङका अनुसार सेवा समारोह अन्तर्गत जेठ २१ र २२ गते विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंवम दोस्रो माङ इङघङ भविष्यवाणी २०८२ समारोहको तयारी गरिने छ ।
सप्ताहव्यापी समारोह अन्तर्गत जेठ २३ गते विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंवम दोस्रो माङ इङघङ भविष्यवाणी समारोह समुद्घाटन साथै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूबाट अमृतमय माङ इङघङ भविष्यवाणी प्रदान हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।