सिन्धुली/राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रम अन्तर्गत सिन्धुलीमा आदिवासी माझी र राई दनुवार जातिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्ने शिलशिलामा बिहिबार सिन्धुलीको मरिण नगरपालिका ६ मा पुगेर माझी र राई दनुवार समुदायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।
नेपालका आदिवासी जनजातिहरुसँग आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौं विषयमा सिन्धुलीमा नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष गोविन्द लाल माझी, कोषाध्यक्ष सिरिलाल माझी, माझी उत्थान संघकै सदस्य कृष्णबहादुर माझीसँग छलफल तथा अन्तरक्रिया गरिएको महासमितिका कोषाध्यक्ष प्रकाश सावदेनले बताए ।
त्यसैगरी राई दनुवार समाज नेपालका अध्यक्ष नरबहादुर राई, सचिव डोरबहादुर राई लगायतका प्रतिनिधिहरुसँग पनि जनगणनामा धर्मको महलमा किरात धर्म लेख्ने विषयमा छलफल भएको कोषाध्यक्ष सावदेनको भनाई छ ।
यसरी किरात धर्म लेखौं विषयमा छलफल तथा अन्तरक्रिया गर्न किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा अभियान टोली सो क्षेत्रमा पुगेको जनाइएको छ ।
टोलीका प्रतिनिधिहरुमा महासमितिका उपाध्यक्ष कमला तुम्बापो, कोषाध्यक्ष प्रकाश सावदेन, सचिव काजीमान लिङदेन, किरात साम्यो सुनुगेन थक्सुबा पान्जुम्भोका मनकुमार थेगिम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय सदस्य अनिस लाओती, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा, साङदाङगेन वरुमसामा लिला माझी लगायतका संघ संगठनहरुका प्रतिनिधि सहभागि रहेको महासमितिले जनाएको छ ।
यता, किरात धर्म लेखौं अभियान अन्तर्गत जिल्ला समिति विस्तार गर्ने क्रममा किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा बिहिबार नै पान्थरको लब्रेकुटीमा कार्यकर्ता भेलासम्पन्न भएको छ ।
अभियान महासमितिका सचिवद्धय काकीराम लाओती र ज्ञानु केदेमको उपस्थितीमा सम्पन्न भेलाले आगामी चैत्र २ गते पान्थरको लब्रेकुटीमा किरात धर्म लेखौं विषयक बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको संघ पान्थर अध्यक्ष ध्रुव तुम्बापोले जानकारी दिए ।