महागुरु फाल्गुनन्दलाई भमराको सन्देश


रमेश तुम्बापो ‘हाङसाम’

 

वि. स. २००४ साल तिरको कुरा हो । महागुरु फाल्गुनन्द पान्थरको सिलौटीमा आश्रम गरी बस्नु भएको थियो । बेला–बेला आफ्ना शिष्यहरुलाई भन्ने गर्नुहुन्थ्यो, मैले यहाँ बसेर संसारको घटना थाहा पाउनु पर्छ । तर मेरो आकाशवाणीले राम्ररी काम गर्न छोड्दैछ । त्यसैले यो साल पछाडि मेरो आत्मालाई माथि ध्वजेडाँडामा सार्नु पर्छ होला । ध्वजेडाँडा सिलौटी माङ्हिमको नजिकमा रहेको अर्को डाँडाको नाम हो । त्यसपछि वि.स. २००४ सालको असोज कार्तिकको महिनामा रानीटारको गुम्बाडाँडा निवासी तुलाराम गुरुङ र सिलौटी माङ्हिमका सेवासाबा सिद्धिनन्द फेजङले ध्वजेडाँडामा गुरुआश्रम निर्माणका लागि सम्याउन सुरु गरे ।

 

यसरी महागुरु फाल्गुनन्द सिलौटी रहँदा बस्दा त्यहाँ जोडी कागहरु पनि अनिवार्य बस्ने गर्थे । ती जोडी कागहरुलाई बाँसको डुड माथी चोखो भात, प्रसादहरु दिनु पथ्र्यो । कहिले काही ती जोडी कागहरुलाई महागुरुले भन्ने गर्नुहुन्थ्यो – खबरदार तिमीहरुको समाचार झुठो होला । झुट्टा समाचार लिएर आयौँ भने भोलीदेखि भात र प्रसाद खान पाउने छैनौं । वि.स २००४ सालमा गुरुआश्रमको लागि ध्वजेडाँडामा सम्याइएको अवशेष नेपाल दुर सञ्चारको टावर स्थापना नहुँदासम्म त्यसै रहेको थियो । सायद महागुरुले ध्वजेडाँडामा मेरो आश्रमलाई सार्नु पर्छ भन्नुको तात्पर्य भविष्यमा मेरो समाधिस्थल यहाँ हुनेछ भन्नु भएकोे थियो होला । वि. स. २००५ साल फागुन, चैत महिनाको दिन थियो । सिद्धिनन्दलाई बोलाएर भन्नु भयो–माक्लुङ्गे कान्छा माथि ध्वजेडाँडामा दाउरा चिरेर तयार गरी राख, म तल चुक्चीनाम्बा गएर फर्कि आएपछि त्यहाँ ठूलो सेवा लगाउनु पर्छ ।

 

त्यस पश्चात महागुरु फाल्गुनन्द केही शिष्यहरुको साथमा चुक्चीनाम्बा झर्नु भयो । सिद्धिनन्द (माक्लुङ्गे कान्छा महागुरुले बोलाउने नाम) ले खेतला लगाएर ध्वजेडाँडामा दाउरा चिर्न सुरु गरे । केही दिनसम्म जन्मभूमि चुक्चीनाम्बा गैरीधाम माङ्हिममा बसेर त्यहाँबाट सिलौटीतर्फ उकालो लाग्नु भयो । रबि मुढेगाउँमा प्रिय चेला पदमलाल भालु साम्पाङ राई योगनाम रामनन्दको घरमा पुग्नु भयो ।

 

रामनन्द पूर्व राजदुत डा. नोबलकिशोर राईको मावली बाजेको नाम हो । त्यहाँ आइपुग्दा रबि बासी चेलाहरुले गुरु कहिले आउँला र सेवा गरी मागौला भनि पर्खि बसेका रहेछन् । सेवाको लागि कुरा गर्दा कहिल्यै नरिसाउने गुरु यस पटक भने सेवा–सेवा, तिमीहरुको कहिल्यै पनि नसक्ने सेवा, म भइन्जेल मैले सेवा गरीदिन्छु । म गएपछि कसले गरी दिन्छ सेवा ? सेवा, ध्यान, तपस्या भनेको आफैले पो गर्नुपर्छ त । भन्दै रिसाएको देखेर चेलाहरु आश्चर्य चकित भए । गुरु चेला बीचको सम्बन्ध पनि बावुआमा र छोराछोरी बीचको सम्बन्ध जस्तै हँुदोरहेछ । चेलाहरुको आग्रहलाई जीवनको अन्तिम समयमा पनि नकार्नु भएन महागुरुले ।

 

रामनन्दको घर छेउमा सेवाको लागि तयारी भइरहेको थियो । एउटा भमरा उत्तर दिशाबाट वेगले हुईकिएर आयो । र, त्यसले महागुरुलाई तीन फन्को मारेर परिक्रमा ग¥यो र यज्ञशालामा गएर एक पटक फन्को लगाएर पुनः महागुरु कहाँ आयो । त्यसपछि महागुरुलाई एक फन्को परिक्रमा लगाई राखेर सिधैँ उत्तरतर्फ हुईकियो । त्यसपछि महागुरुको स्वाभाविक चेहेरामा परिवर्तन देखा प¥यो । अँध्यारो, निलो हुनुभयो । पश्चात आफ्नो आसनबाट जुरुक्क उठेर भन्न थाल्नुभयो । ए पापी हांै, अहिले यहाँ को आयो ? के भनेर गयो ? थाहा छ । चेलाहरु सबैले देखेको त्यहीँ भमरा मात्रै थियो । ए….. रामनन्द तिम्रो हाम्रो त यो धर्तीमा बस्ने दिन सकि सक्योरे, अब चाडै जानु पर्छ रे । ऊ छोरी लक्ष्मी चाँही अलिक दिन बस्छिन रे (रामनन्दकी श्रीमती) ।

 

पच्चमुक्खा स्वभावका रामनन्दले जवाफ फर्काइ हाले – होईन गुरु तपाई हामी अहिलेनै मर्छौ र ? तपाईलाई पनि कुनै बिमार लागेकै छैन्, म पनि हुष्टपुष्ट छु, केही भएकै छैन् । महागुरु – खोई ? रामनन्द, काल भोकाएको हो कि, दिन पुगेको हो कि काल त यहीँ फनफनी घुम्दै गरेको देख्दैछु । रामनन्द – होईन गुरु, भीर पहराबाट लडी मरिन्छ भनौं भने घाँस दाउरा गरिन्दैन् । रुखपातबाट खसेर मरिन्छ भनौ भने रुखपात चढिन्दैन् । घोडा चढ्नमा लिसो बराबर कसरी मरिएला ? महागुरु – कालले बलियो बाङ्गो, बैशालु, हस्टपुस्ट केही भन्दैन रामनन्द ।

 

महागुरु फाल्गुनन्दलाई त्यहीँ रबी बजारमा हँुदै टाउको दुख्ने बिमारले छोईसकेको थियो । अधिकांश चेलाहरुलाई पनि लागिसकेको थियो, अब गुरुले छोड्नु भएछ भन्ने कुरा । त्यसैले चेलाहरुले अब गुरु हामीलाई छाडेर कहीँ नजानुहोस् भनी विन्ती गरेका थिए । जवाफमा महागुरुले ए…. मैले तिमीहरुलाई छोडेर कहाँ जान्दैछु र । सतकर्मले सत्य सम्झेर खोज त्यहीँ पाउँनेछौँ मलाई भन्दै चेलाहरुको मन थामिदिने गर्नुहुन्थ्यो । यस घडीमा रबिमा आफ्नो चेलाहरुलाई दिनभरीको उपदेश यति मिठासपूर्ण थियो कि जति सुने पनि सुनिरहँु जस्तो ।

 

रबिबासीले ती उपदेशहरु कतिको मनन गरेको छ भन्ने कुरा तपशिलमा छ । वास्तवमा महागुरुले आफ्नो नाश्वान शरीरलाई फक्ताङलुङ पु¥याएर विसर्जन गर्ने इच्छा गर्नु भएको थियो । तर, चेलाहरुले महागुरुको त्यो इच्छा बुझिदिने कोशिस गरेनन् । त्यसो भएपछि फक्ताङलुङ नपु¥याए पनि सिलौटीको ध्वजेडाँडामा पु¥याएर तमाम चेलाहरुको बीचमा अन्तिम उपदेश सुनाई राखेर प्राण त्याग्ने विचार गर्नु भएको थियो । केही चेलाहरुकै कारण महागुरुको त्यो इच्छा पनि पूरा हुन सकेन् । त्यस पश्चात रबिबाट हिकुनाम्बा निवासी बासुनन्दको सेतो घोडामा चढाएर महागुरुलाई अर्का प्रिय चेला सिङहाङ निवासी थलुप्रसाद राईको घरमा महागुरुलाई ल्याइयो । घोडा चढे बापत पाप कटाउनी भनेर घोडामालिक बासुनन्दलाई रु. ५ दिएर भन्नु भयो – बासुनन्द, यो पैसाले मिस्री किनेर घोडालाई देऊ हैं ।

 

सिङहाङ स्थित थलप्रसाद राईको घरमा एक रात बास बस्दा रातभरी कुकुरहरु एकोहोरो भुकेर पटकै निन्द्रा दिएन् । चेलाहरु मध्येकै मनिनन्द लाफियङ चाम्लिङ र चन्द्रदास राईको बीचमा झगडा पनि भयो । झगडीया चेला दुवैलाई महागुरुले एक–एक चिम्टा कोर्रा हान्दै भन्नुभयो– रातभरी कुकुरहरु किन भुक्दैछ ? के हुन लागेको छ ? के भन्दै छ यी कुकुरहरु हँ… ? सिङ्हाङबाट बद्रीनन्द तुम्बापोलाई तल माङ्हिम विजोग भो जाउ भनेर फर्काउँनु भयो । बद्रीनन्द मनभरी पीर बोकेर सिङहाङबाट फर्के । उसलाई लागेको थियो, अब गुरुको बारेमा शुभ खबर पाइने छैनन् होला ।

 

सिङहाङबाट निबुखोला तरेर फेन्जेथेप्पा खोला उकालो सिलौटीतर्फ ल्याईयो महागुरुलाई । यहाँ शिर्वोमान नामको देवीथान पनि रहेको छ । त्यहाँ महागुरुले रातभरी मुरली बजाएर स्थानीय देवीदेवता, सिमेभुमे, खोलाहरुसँग मुरलीको धुनबाट सधै–सधैको लागि बिदा माग्नु भएको थियो । यहाँसम्म आइपुग्दा महागुरुको शरीर धेरै शिथिल भइसकेको थियो । बाटोेमा पर्ने प्रत्येक पानी मूलहरुको पानी आफ्नो शीरमा चढाउदै सधै–सधैको लागि विदा माग्नु हुन्थ्यो । त्यहाँबाट इम्बुङ गाउँमा रहेको फाक्खोङलीङ पोखरीमा पु¥याइयो ।

 

यो फाक्खोङलिङ पोखरी ज्यादै दुष्ट पोखरी थियो । पोखरीको छेउमा आफ्नो आशनमा बसिरहनु भएको अवस्थामा पोखरीको पानी एक्कासी उम्लिन थाल्योे । यहाँसम्म कि अस्वभाविक बवन्डर भूमरी उठेर त्यसले पोखरीको पानीलाई आकाशमा लगेर जथाभावि बर्साउन थाल्यो । पोखरीको आक्रमण पूरै महागुरुप्रति लक्षित थियो । पोखरीको यस्तो व्यवहार देखेपछि महागुरुले अक्षता जपेर हान्नु हुँदै पेगो–पेगो अर्थात जाउँ है जाउँ भन्नुभयो । तुरुन्तै त्यहाँबाट भुमरी निबुखोलातर्फ लाग्यो । पश्चात फाक्खोङलीङ्मे आङ्गारक पेकारो फाल्ले आन्छी नेप्जाङ सोरिक–सोरिक आबिच्छिबा रैछ । अर्थातः म मात्रै जान्छु है भनेको त तिमी हामी दुबै जना सँगै–सँगै जाने भइएछ । फाक्खोङ्लीङ पोखरीको हालत त्यस्तैनै भयो । उता रामनन्दको पनि २००६ साल जेठ तिर मृत्यु भयो ।

 

वि.स. २००५ साल चैत २२ गतेको दिन इम्बुङबाट महागुरुको शिथिल शरीरलाई छिमेकी गाउँ हाङयोकसम्म ल्याइयो । तथापी, महागुरु माल्गुनन्दले ए पापी हो, मलाई सिलौटीसम्म पु¥याउ भनिरहनु भएको थियो । हाङयोकमा सेवाहाङ नेम्बाङको मूलघर भित्र राखियो । तर घर भित्र बस्न महागुरु पटक्कै मान्नुभएन र बाहिर निकालियो । परालका मुठाहरुले बारेको, छाएको डेरा बनाएर महागुरुलाई त्यहाँ राखियो । ए पापी हो, मेरो नाश्वर शरीरलाई फक्ताङलुङ पु¥याएर विसर्जन गर्ने इच्छा गरेको थिए, त्यो पनि पूरा हुन दिएनौ । त्यहाँसम्म नभए सिलौटीसम्म पु¥याइदेउ भन्दा पनि पु¥याइ दिएनौं । मैले तिमीहरुको इच्छा सबै बुझिसके ।

 

त्यहाँ महागुरुले अन्तिम बाणीहरु सुनाउनु भयो । तर बाणी सुन्नेमा कोही पनि थिएन् । चेलाहरुको बीचमा सामान्य झगडा पनि भयो । अन्त्यमा नेपाली भाषामा आफैले रचना गर्नुभएको ‘सुर्मेनकी बेला भयो राम राम’ बोलको भजन चार जना भएर मेरो शीर र पाउमा एक–एक जोडी दियो, कलश राखेर गाउनु भन्ने आज्ञा गर्नुभयो । तर, त्यहाँ उपस्थित मुख्य चेलाहरु यो भजन गाउँनेमा थिएन् । अर्कै धुनमा थिए उनीहरु । त्यसपछि टिकाराम थिङ तामाङ, सन्जोगी इधिङ्गो तुम्बापो र एकजना महिला भएर ३ जनाले सितारा बजाउँदै उक्त भजन गाए । महागुरुले लामो ओत्कार धुन छाड्दै प्राण त्याग्नु भयो ।


त्यसपछि महागुरुको पार्थिव शरीरलाई कहाँ लाने भन्ने विषण्यमा विवाद हुन थाल्यो । विवाद चुलिएपछि महागुरुको पनि साहु टिकाराम थिङलाई बोल्न दिइयो । उसले जहाँ लैजाऔं भन्छ त्यहीँ लैजाऔं भन्नु भएपछि प्रथम चेला दिलमान तुम्बापो (१९५१–२०३२) लाई बोल्न दिइयो । दिलमानले गुरु स्वंयमले सिलौटी भन्नु भएकोले सिलौटीनै लानुपर्छ भन्न साथ तुम्बापोहरुको एउटा समूहहरुले महगुरुको शवलाई जराक जुरुक उठाएर सिलौटीतर्फ हिडायो । टिकाराम थिङको भित्रि इच्छा पनि यहीँनै थियो । कतिपय चेलाहरुले सिलौटीको विकल्पमा साप्सुमा लानुपर्छ भन्ने रहेको थियो । तर, महागुरुसँग सम्बन्धित भने थिएन । चोकमागुबाट तुम्बापोहरु एकघर बराबर चार जनासम्म मलामी गएका थिए । मेरो पार्थिव शरीरलाई नजलाउनु र नगाड्नु पनि चारै सुरबाट वन्यजन्तु मुसा समेत छिर्न नसक्ने गरी बारेर त्यसै छोडी राख्नु र भोलिपल्ट विहानै आएर हेर्नु भन्ने महागुरु फाल्गुनन्दको वाणी थियो ।

 

तर, अघि सिद्धिनन्दले सेवा लाउनु पर्छ भनेर चिरेर तयार पारी राखेको दाउरा छँदै थियो । दाउराले महागुरुको पार्थिव शरीरलाई जलाएर खरानी बनाईदियो । महागुरु फाल्गुनन्दले जीवन पर्यान्त दिएको उपदेशको पालना चेलाहरुबाट हुन सकिरहेको थिएन । कतिपय चेलाहरुले आफ्नो गुरुको देहावसानलाई आफू उत्तराधिकारी बन्ने अवसरको रुपमा लिने दाउमा थिए । कतिपय चेलाहरुले सम्पति आर्जनको अवसरमा ।

 

महागुरु फाल्गुनन्दको देहवसान पश्चात उनको शुद्धाई कार्य (फःचे कर्म) ६ मन्दिर ६ स्थान र ६ पटक भयो । सर्वप्रथम पान्थर चोकमागुको लब्रेकुटीमा वि.स. २००६ साल बैशाख ६ गते मंगलबारको दिन चोकमागुका तुम्बापो शिष्यहरु जम्मा भएर आफ्ना गुरुका शुद्धाई कार्य सम्पन्न ग¥यो । यसैगरी २००६ साल बैशाक २७ गते विहिबारको दिन आठराई निगुरादिन मन्दिरमा ह्वाकु, इवा, खाम्लालुङ, बोखिमका भक्तजनहरु भेला भएर गुरुको फःचे गरेका थिए । सिलौटीमा नेम्बाङ परिवारले, चुक्चीनाम्बामा गुरुकुल वंशले र जीतपुरमा सबै भन्दा पछाडि त्यहाँका स्थानीय भक्तजनहरुले आफ्नो गुरुको अन्त्यष्ठी कार्य सम्पन्न गरेको थियो । कावेली माङहिममा पनि याङवरक क्षेत्रका भक्तजनहरुले गुरुको सुद्धाई कार्य गरेको थियो ।

 

यसरी आज हाम्रो माझ्मा शशरीर रुपमा महागुरु फाल्गुनन्द प्रकट हुनु हुन्न । तथापि, सत्य, अहिंसा र माङसेवाको अश्त्रले संसारलाई परिवर्तन गर्न सकिन्छ भन्ने उहाँको दार्शनिक विचार मूल्य मान्यताहरु हाम्रो बीचमा छोडी राखेर जानु भएकोछ । यद्यपी यी शक्तिशाली दार्शनिक विचारहरुलाई कसरी चलाउँदा आफू र समाज भित्र रहेका विद्यमान विकृति विसंगतिहरुलाई समूल नष्ट गरेर स्वच्छ समृद्ध समाजको निर्माण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित संघ संस्थाहरुका नेतृत्वले गम्भिरता पूर्वक सोच्ने बेला आएको छ ।

 

अश्त्र चलाउने सही ज्ञान र विवेक नहुँदा जापानको हिरोसी नागासाकीमा भीषण नरसंहार भएको विश्वसामु प्रसिद्ध छ । नागासाकीमा विष्फोटन गरिएको एटम बम भन्दा सत्यको दर्शनमा अर्बौ गुणाले शक्ति बढी रहेको हुन्छ भन्ने कुरा नेतृत्वले बुझ्नु आवश्यक छ । किनकि पृथ्वी लगायत अन्य सबै ग्रहहरु पनि आ–आफ्नो सत्यको मार्ग दर्शनमा अडिएको छ भन्ने कुरा किरात मुन्धुम दर्शनले भन्दै आएको छ । मुन्धुमवाद, प्रकृतिवाद, कर्मवाद र सत्यवाद भन्नु एउटै हो के । त्यसकारण महागुरु फाल्गुनन्दले दिनु भएको सत्य, अहिंसा र माङसेवाको दर्शनलाई कर्ममा अनुवाद गर्न सकेको खण्डमा मात्र वहाँको सुन्दर सपना साकार हुनेछ । वहाँप्रति सच्चा सम्मान हुनेछ । यहीँ कार्यमा लाग्नुनै सच्चा भक्ति हो, तपस्या हो ।