दमक/कोशी प्रदेश नामाकरण विरूद्धको आन्दोलनका क्रममा घाइते भई उपचारको क्रममा मृत्यु भएका पहिचानवादी सहिद पदम कुमार लिम्बू (लाजेहाङ्) को अन्त्येष्टि कार्य गरिएको छ । शनिबार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो ।
गत चैत ५ गते विराटनगरमा प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा भएको बृहत जनप्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागि घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
मृत्यू भएका लिम्बुको शव धरानस्थित बीपी प्रतिष्ठानको मर्चरीमा राखेर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिएका थिए । आन्दोलनरत पक्षले सहिद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि संघीय सरकारले चैत्र २४ गते लिम्बूलाई सहिद घोषणा गरेको थियो । सहिद परिवारलाई १० लाख क्षतिपुर्ति दिने सरकारले घोषणा गरेको छ ।
सहिद लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह कमाण्डर हुन् । उनको शवलाई लिम्बुवान भोलेन्यिटर्सले श्रद्धाञ्जली अर्पण गर्दै सलामी दिएको थियो ।
सहिद परिवारसँगको समन्वय पछि संघर्ष समितिले लाजेहाङलाई २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान बिपिमा पोस्टमार्टम गरी धरानस्थित भानुचोकमा श्रद्धाञ्जली सभा गरी शवयात्रा गर्दै इटहरी चोकमा पुनः श्रद्धाञ्जली सभा गरेको थियो । त्यसपछि शव विराटनगर पुराइएको थियो । मोटरसाइकल र्याली सहित सम्पन्न कार्यक्रममा हजारौं जना सहभागी भएका थिए ।
शवयात्रामा प्रहरीको दमन
विराटनगर महेन्द्र चोक हुँदै प्रदेशसभा भवन अगाडि र मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोकमा पुराएर श्रद्धाञ्जली सभा गर्ने आयोजकको तयारी थियो यद्यपी सो स्थानमा प्रहरी प्रशासनले कार्यक्रम गर्न दिइएन । शव यात्राको क्रममा विराटनगरमा झडप भएको छ । झडपमा ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार ३ नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय अध्यक्ष प्रेम एक्तेन सहित ६ जना आन्दोलरत पक्षकाहरु घाइते भएका छन् । शवयात्राको क्रममा प्रहरी प्रशासनको दमनप्रति आन्दोलनरत संघर्ष समितिका प्रमुखहरुले आपत्ती जनाएका छन् । उनीहरुले प्रहरी दमनको विरोध गरेका छन् ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । संघर्ष समितिले आज १० गते इटहरीमा बिरोध सभा र ११ गते देखि विराटनगर केन्द्रित कार्यक्रम समेत घोषणा गरेका छन् ।